१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मातातीर्थ मेलाका लागि तयारी पूरा



काठमाडौं । आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।

यही वैशाख ७ गते वैशाख कृष्णपक्ष औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर काम गरिएको बताए । उनका अनुसार मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ ।

वैशाख ६ गते साँझ बत्ती बाल्ने र भोलिपल्ट औँसीका दिनमा आमाको मुख हेर्ने तथा स्नान गर्ने भएकाले अघिल्लो दिनदेखि नै सोही क्षेत्रमा मेला लाग्ने अध्यक्ष उदासले बताउनुभयो । यसपटक मेला भर्न पाँच लाखभन्दा बढी व्यक्तिले मेला भर्ने आयोजकको अनुमान छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ ।

दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा ठूलो मेला लाग्दै आएको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्न जानेको सङ्ख्या पनि बढ्दै गएको हो । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाटमुक्त हुने विश्वास गरिन्छ । मातातीर्थमा पछिल्लो समय आमाको श्राद्ध गर्न आउनेको सङ्ख्या बढेको मन्दिरका पुजारी फणीन्द्र अधिकारीले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ९ : ४५ बजे