कुमारी बाहिर निस्किएपछि गर्ने काम तस्बिरले देखाएको छ । हामीले महिला सशक्तीकरणका लागि गरिरहेको गतिविधिसँगै संस्कृति र सम्पदा संरक्षणमा निर्वाह गरेको भूमिकालाई सहजै प्रदर्शनीमार्फत बुझ्नुहुनेछ
१२ बैशाख । पाटनकी पूर्वकुमारी (जिवित देवी) समिता बज्रचार्याको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी पाटन सङ्ग्रहालयमा आजदेखि सुरू भएको छ । विसं २०६७ देखि २०७१ सालको अवधिमा पाटनमा जिवित देवी कुमारीको रुपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल’ सम्मको जीवनीलाई तस्बिरमा सङ्ग्रहित गरेर प्रदर्शनी गरिएको संयोजक तथा फोटोग्राफर कुवेर डङ्गोलले जानकारी दिएका छन् ।
“तस्बिर खिच्ने क्रममा यो योजना बनेको हो । उहाँको जीवनी कुमारी घरभन्दा बाहिर कस्तो हुन्छ भन्ने जिज्ञासा भएर त्यसलाई तस्बिरमार्फत देखाउने योजना बन्यो”, संयोजक डङ्गोलले भने, “मसँग कुमारी घरबाट निस्किएपछिको तस्बिर थियो । उहाँको अगाडिको जीवनी झल्किने तस्बिर फोटो पत्रकार नरेन्द्र श्रेष्ठसँग भएकाले सहकार्य गरेर प्रदर्शनीको आयोजना गरिएको हो ।”
प्रदर्शनी वैशाख १९ गतेसम्म चल्नेछ । आज एक कार्यक्रमको बीच फोटो प्रदर्शनीको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले पूर्वकुमारीको जीवनीलाई तस्बिरमा कैद गरेर प्रदर्शन गरिनु आफैँमा राम्रो कार्य रहेको बताएका छन् । “कुमारी घरबाट निस्किएपछि उहाँले के कस्तो रूपमा बाहिरी संसारलाई बुझ्नुभएको छ भन्ने जिज्ञासा यस किसिमको प्रदर्शनीले मेटाउने छ । पूर्वकुमारीबाट सुनिएको गुनासोलाई सम्बोधन गर्दै उहाँहरूको सेवा सुविधा थपिने गरी निर्णय गर्नेछौँ”, प्रमुख महर्जनले भने ।
पूर्वकुमारी बज्राचार्य आठ वर्षको उमेरमा कुमारी भएर ११ वर्षमा घर फर्किएकी थिइन् । पूर्वकुमारी बज्राचार्यले प्रदर्शनीमा राखिएको तस्बिरले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनी प्रस्ट्याउने उनले बताइन् । “कुमारी बाहिर निस्किएपछि गर्ने काम तस्बिरले देखाएको छ । हामीले महिला सशक्तीकरणका लागि गरिरहेको गतिविधिसँगै संस्कृति र सम्पदा संरक्षणमा निर्वाह गरेको भूमिकालाई सहजै प्रदर्शनीमार्फत बुझ्नुहुनेछ”, पूर्वकुमारी बज्राचार्यले भनिन् ।
प्रदर्शनीमा त्रिचालीस वटा तस्बिर रखिएको छ । जसमा कुमारी छनोट, कुमारी घरभित्रको जीवन, अवकाश पाउँदाको समय र पूर्वकुमारी भएपछिको जीवनलाई समेटिएको प्रदर्शनी संयोजक डङ्गोलले जानकारी दिए ।
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले संस्कृति संरक्षणमा फोटो प्रदशनी पनि एक अंग रहेको बताउदै उनले धर्म, संस्कृति, संस्कार, सामाजिक कार्य , मोडलिङ्ग, फेशनका कुराहरु जोडिएको बताए । कार्यक्रममा ललितपुरका मेयर चिरीबाबु महर्जन उपमेयर मञ्जली शाक्य बज्राचार्य,समाजसेवी राज्यलक्ष्मी बज्राचार्य,फोटोग्राफर नरेन्द्र श्रेष्ठ र कुबेर डंगोल, मिस नेशनल समिता बज्राचार्यलगायत अन्य सुन्दरी प्रतियोगिताको बिजेताहरुको घुईंचो कार्यक्रम संयोजक खगेश रन्जितकारले बताए ।
प्रतिक्रिया