२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौं महानगरभित्र विज्ञापन गर्न रोक



सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने गरी कुनै पनि ठाउँमा बाह्य विज्ञापन नगर्न महानगरले भनेको छ

 

१६ बैशाख । काठमाडौँ महानगरपालिकाले सहरको सुन्दरता कायम गर्न र सर्वसाधारणलाई सुरक्षा दिन आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थानमा बाह्य विज्ञापन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

त्यस्तै सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने गरी कुनै पनि ठाउँमा बाह्य विज्ञापन नगर्न महानगरले भनेको छ । २०७९ चैत ३० गते प्रकाशन भएको स्थानीय राजपत्रमा समावेश ‘कामपाको वाह्य विज्ञापन नियमन निर्देशिका–२०७९’ मा यस सम्बन्धी व्यवस्था गरिएको महानगरको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिएका छन् ।

अधिकारी आचार्यका अनुसार निर्देशिकामा विज्ञापन गर्न निषेध, विज्ञापन गर्न नहुने, ग्राह्य नहुने विषय, निषेधित क्षेत्र घोषणा गर्न सक्ने, विज्ञापन बोर्ड, परिचय पाटी, नियमन समिति गठनलगायत व्यवस्था छन् । नियमन समितिको काम कर्तव्य र अधिकार, विज्ञापन करसम्बन्धी व्यवस्था, स्थानान्तरणसम्बन्धी व्यवस्था, विज्ञापन कल्याण कोष सञ्चालन, बाह्य विज्ञापनका लागि अनुमति दिन नसकिने, विज्ञापन खारेज, वातावरणमैत्री विज्ञापनको प्रवद्र्धन, प्रोत्साहनलगायत प्रबन्ध छन् ।

निर्देशिकाको प्रतिकूल हुने गरी निषेधित स्थानमा राखे रु एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । महानगर क्षेत्रभित्र विज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टास्ने, वाल पेन्टिङ, पोष्टरिङ, पम्प्लेटिङ, पर्चा वितरण, व्यानर टास्ने माध्यमलाई अनुमति दिइने छैन ।

सङ्घीय र प्रदेश कानुन विपरीत हुने, धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल, विश्व सम्पदा क्षेत्रमा सूचीकृत मौलिक संरचना वा संस्कृतिमा प्रतिकूल असर हुने विज्ञापन गर्न पाइँदैन । विज्ञापन राख्ने ठाउँ १२ फिटभन्दा कम उचाइमा रहेमा, नक्सापास नभएको संरचनामा, प्राविधिक रुपमा सवल नभएको भवनमा, बाहिरी रुपमा रङ रोगन नगरिएको भवनमा, हेर्दा दुरुस्त नदेखिने भवनमा विज्ञापन बोर्ड राख्न पाइँदैन ।

पुरातात्विक महत्वका क्षेत्र, प्रशासनिक क्षेत्र, सम्पदा क्षेत्र, कूटनीतिक क्षेत्रमा र त्यसको एक सय मिटरभित्रको दुरीमा बोर्ड राख्न पाइँदैन ।

विज्ञापन गर्न नमिल्ले विषयहरुमा प्रयोग गर्न निषेध गरेका वस्तु, पदार्थ तथा सेवा, महानगरको स्थानीय कानुन विपरीतका सेवा, संरचना र विषयवस्तु रहेका छन् । कानुनले अश्लील मानेका विषय, सामाजिक रुपमा भ्रम र विकृति फैलाउने, अन्धविश्वाशलाई प्रोत्साहन गर्ने, चिकित्सकको सिफारिसमा मात्र बिक्री वितरण गर्नुपर्ने औषधिको विज्ञापन गर्न पाइँदैन ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १२ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।