१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चिडियाखानाका क्षमताभन्दा धेरै बाघ, बार्षिक ५६ लाख भन्दा धेरै खर्च



सदर चिडियाखानाको क्षमताभन्दा बढी बाघ थपिएको छ । बाघ थपिँदै जाने क्रममा आर्थिक भार पनि थपिएको छ
३० बैशाख । सदर चिडियाखानामा क्षमताभन्दा धेरै बाघ राखिएको खुलेको छ ।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले भने, “सदर चिडियाखानाको क्षमताभन्दा बढी बाघ थपिएको छ । बाघ थपिँदै जाने क्रममा आर्थिक भार पनि थपिएको छ । त्यसैले प्रत्येक शनिबार बाघलाई ‘फास्टिङ’मा राख्ने गरेका छौँ । उनीहरुले पानी मात्र पिउँछन् ।”
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ ।
एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाख १६ हजार खर्च आउने सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिएका छन् ।
उनका अनुसार हाल चिडियाखानामा १८ वर्षीय बाङ्गे बाघ, १३ वर्षीय महाराजा बाघ, १२ वर्षीय बगौरा बाघ, ९ वर्षीय प्रताप बाघ, ८ वर्षीया जगती (पोथी) बाघ र ५ वर्षीया महारानी (पोथी) बाघसहित जम्मा ६ वटा बाघ छन् ।
पाँच वर्षे महारानी नामको बाघले वैशाख ८ मा कञ्चनपुर बेलौरी नगरपालिका ८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गङ्गादेवी चन्दलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चन्दको मृत्यु भएको थियो ।
बाघको आक्रमणबाट चन्दको मृत्युपछि, डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्तीसहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायत निकाय क्रियाशील भई बाघलाई नियन्त्रणमा लिई वैशाख १० गते चिडियाखानामा ल्याइएको थियो ।
महारानीलाई हाल क्वारेन्टिनमा राखिएको छ । सुरुसुरुमा आहारा नखाएर झोक्राए पनि केही दिनयता सामान्य अवस्थामा फर्किन लागेको छ ।
हाल प्रताप नामको (भाले) बाघ र जगती नामको (पोथी) बाघलाई सँगै राखिएको छ भने प्राविधिक टोलीको निगरानीमा क्वारेन्टिनमा रहेको महारानी बाघमा केही सुधार आएपछि महाराजा बाघसँग मिलाएर राख्ने योजना छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ६ : ४८ बजे