ललितपुर, ३ जेठ । अस्ट्रेलिया पुगेको पाटनको १३औँ शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल ४८ वर्षपछि फिर्ता भएको छ । ललितपुरको सुलिमा टोलस्थित मन्दिरको उक्त टुँडाल अस्ट्रेलियाले नेपाललाई मंगलबार फिर्ता गरेको हो ।
आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक माइकल ब्रान्ड र नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री माननीय टिम वाट्सले मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई फिर्ता गरेका हुन् । टुँडाल हस्तान्तरण कार्यक्रममा संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन सहभागी थिए । सहायक परराष्ट्रमन्त्री टिम वाट्स मंगलबार नेपाल भ्रमणमा आएका हुन् । टिम वाट्सले आर्ट ग्यालरी न्यु साउथ वेल्सको प्रशंसा गर्दै अस्ट्रेलियाले उच्च नैतिक व्यवहार र अन्तर्राष्ट्रिय मान्यताअनुसार काम गर्न प्रतिबद्ध रहेको तथ्य प्रदर्शन गरेको बताए ।
टिम वाट्सले भने, ‘आज उत्सव मनाउने समय हो, किनभने यो स्पष्ट भयो कि अस्ट्रेलिया र नेपालको सम्बन्ध फस्टाउँदै छ,’ उनले भने, ‘नेपालमा जलवायु परिवर्तन, प्रकोप पूर्वतयारी र सुशासनका क्षेत्रमा सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । अस्ट्रेलिया र नेपालबीच सीधा हवाई उडान गर्नेलगायत पहल गर्न उत्साहित छौँ ।’
प्रतिक्रिया