१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरमा मच्छिन्द्रनाथका पुगे पुजारी, १७ सय वर्ष पुरानो परम्पराले पायो निरन्तरता



काठमाडौं, ५ जेठ । कीर्तिपुर र मच्छिन्द्रनाथ यात्रासम्बन्धी छ महिने विवादले बिहीबार मध्यराति अन्तिम टुङ्गो पाएपछि शुक्रबार मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर पुगी त्यहाँकी अविवाहित महिला (याकः मिसा)लाई प्रसाद दिएका थिए । यसबाट विगत १७ सय वर्षदेखि चल्दै आएको सो परम्पराले निरन्तरता पाएको छ ।

मध्यरात कीर्तिपुर नगरपालिकाबाट मछिन्द्रनाथको प्रतिमूर्तिलाई पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यलाई  हस्तान्तरण गरिएको थियो । याक मिसाको प्रतिमूर्तिलाई भने कीर्तिपुरमा भविष्यमा स्थापना हुने सङ्ग्रहालयमा राख्ने निर्णय भएको छ ।

रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको थतिटोलबाट जाउलाखेलतर्फ तान्नुभन्दा चार दिनअघि जल पानेजु (मच्छिन्द्रनाथका पुजारी) नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुर–२ पुरातात्विकस्थल प्यांःगथाँ पुगी ‘याक मिसा’ (शक्ति स्वरुप मानिएकी अविवाहिता)लाई प्रसाद ग्रहण गराउने परम्परा छ । यसैगरी रथयात्राकै कुनै एक दिन कीर्तिपुरका महिलाले रथ तान्ने चलनसमेत यहाँ चलेको छ ।

यसैबीच गत मङ्सिरमा स्थानीय सुखी गंछेँ समाजको पहलमा मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापना गरिएको थियो । त्यसको मच्छिन्द्रनाथका पुजारीको समूह हयग्रवी भैरवनाथ तथा ३२ पानेजु सङ्घले कडा विरोध जनाएको थियो ।

तन्त्र साधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीका रुपमा पूजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको गम्भीर उल्लङ्घन हुन जाने भनाइ उनीहरुको थियो । मूर्ति हटाउने र नहटाउनेबीचको विवाद कीर्तिपुर नगरपालिकाको समन्यवमा समाधान गरिएको हो ।

त्यसपछि ललितपुर महानगरपालिका र पुरातत्व विभागले सुखी गँ छेलाई सो मूर्तिहरु प्यंगः थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाइ सो मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि भएका वार्ता तथा बैठकका आधार भन्दै कीर्तिपुर नगरपालिकाले वैशाख ७ गते मूर्ति हटाउन  सुखी गँछेलाई आग्रह गरेको थियोे ।

नगरपालिका, पुरातत्व विभाग र मछिच्द्रनाथका पुजारीको दबाबपछि पनि सुखी गँछेले सम्मानजनक निकास दिनुपर्ने माग राख्दै आएको थियो । गत वैशाख २५ गते स्थापित मूर्ति प्याँगथाबाट हटाइएको थियो । त्यसपछि कीर्तिपुरे महिलाले मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको थियो । कीर्तिपुरे महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलसम्म तानेका थिए ।

 

 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।