२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान



चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो

६ असार । व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान गरिएको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भरेको हो ।

विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गरेका छन् ।

पर्यटनमन्त्री किरातीले चीनबाट आएका चार्टर्ड उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताएका छन् । उनले पर्यटकले पोखराका सबै होटल खचाखच भएको सुन्न पाउँदा हर्षित भएको सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली तथा आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुनलागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी एक सय ३५ यात्रु पोखरा ओर्लने बताइएको छ । सिचुवान एयरलाइन्सको जहाज पोखरामा करिब एक घन्टा रोकिएर त्यसपछि मध्याह्न काठमाडौँ उड्ने गरी उडान तालिका तय गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो ।

चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते (२३–२४ जुन २०२३)मा फेस्टिभल हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल सङ्घ नेपाल (हान) र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)लेसमेत सहयोग गरेका छन् ।

बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए ।

 

विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो

 

कार्यक्रममा सहभागी हुन चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा ६० जनाको टोली चार्टर्ड उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछ । फेस्टिभलको सहयोगी संस्थाका रूपमा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा छन् ।
चीनले यसप्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सिनले बताए ।
प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फट रेस हुनेछ । विजेताले रु ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रममार्फत पोखरा र समग्र गण्डकी प्रदेशको प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

उनले भने, “दक्षिण एसियामा पहिलोपटक आयोजना गरिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवर्द्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

फेस्टिभलमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि रहनेछ । पोखरा विमानस्थलमा पहिलोपटक हुने अन्तर्राष्ट्रिय उडानले पर्यटन क्षेत्र उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ६ : १३ बजे