बगुवाको पुल निर्माणको अवधि साढे दुई वर्ष र अरु दुई वटाको १५/१५ महिनाको रहेको
१८ असार । निर्माणाधीन कान्ति राजमार्गमा तीन ठाउँमा पुल निर्माण गरिने भएको छ । तीन पुलको निर्माणका लागि प्रक्रिया अघि बढेको कान्ति राजमार्ग योजनाले जनाएको छ ।
पहिले एक लेनको पुल रहेकामा सडक जतिकै चौडा बनाउन तीन ठाउँमा दुई लेनको पुल निर्माण अघि बढाउन लागिएको योजना प्रमुख सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
ललितपुरतर्फ बगुवामा पुल निर्माणका लागि प्राविधिक पक्षको मूल्याङ्कनको काम भइरहेको उनले बताए । त्यो सकिएपछि आर्थिक प्रस्तावमा जाने उनले जानकारी दिए । मकवानपुरतर्फ सिमाद खोलामा पुल बनाउन लागिएको छ । सिमाद खोलाका दुई पुलकै लागि ठेक्का आह्वान भइसकेको छ ।
यो आवमा तीनवटै पुलको ठेक्का सम्झौता भइसक्ने उनले बताए । योजना प्रमुख न्यौपानेले भने, “सम्झौता भएपछि आगामी आवदेखि निर्माणमा जान सकिनेछ ।”
बगुवाको पुल निर्माणको अवधि साढे दुई वर्ष र अरु दुई वटाको १५/१५ महिनाको रहेको योजनाले जनाएको छ । बगुवाको पुलको लम्बाइ ९५ मिटर रहेको छ । यसलाई लामो पुल मानिने र अरु दुई पुल भने १८ र ३५ मिटरका रहेका छन् । उनले भने, “यी दुई पुललाई छोटो मानिन्छ ।”
बगुवामा दुई लेनको पुल निर्माण हुनेछ । गाडी हिँड्ने भाग सात मिटर, त्यो बाहेक पैदलयात्रु मार्ग दुवैैतर्फ डेढ÷डेढ मिटर गरेर जम्मा १० मिटर हुने प्रमुख न्यौपानेले जानकारी दिए। कान्ति राजमार्गमा सडक नालीसमेत गरी ११ मिटर रहेको छ ।
सरकारले आगामी आवका लागि विनियोजन गरेको बजेटमा अरू योजनामा बजेट कम भए पनि यो योजनामा गत वर्षहरूको तुलनामा बजेट कम नभएको उनले बताए । योजनामा सडक र पुलहरू निर्माणाधीन रहेकाले पनि बजेट कम नभएको हो ।
निर्माण सुरु भएको छ दशकपछि राजमार्गको निर्माण थोरै मात्रै बाँकी रहेको छ । खासगरी कठिन भौगोलिक संरचना भएको र विगतका वर्षहरूमा पटक पटक पहिरा आएको सडकखण्डमा कालोपत्रे गर्न बाँकी रहेको छ । अहिले कालोपत्रे गरे पनि पहिरोले क्षति पु¥याउने हुँदा पहिले समस्याग्रस्त खण्डको व्यवस्थापन गरी निर्माण अघि बढाउन लागिएको न्यौपानेले बताए । सो खण्डको निर्माणका लागि अर्थ मन्त्रालयसँग रु ६६ करोडका लागि स्वीकृति माग गरिएको छ । बहुवर्षीय ठेक्कामार्फत स्रोत सुनिश्चित भएपछि नै थप काम गर्न सकिने भएको छ ।
प्रतिक्रिया