२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौँ महानगरपालिकामा डेङ्गु रोग नियन्त्रणका‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु



२८ असार । काठमाडौँ महानगरपालिकाले डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ ।

नियमित रूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै महानगरले लार्भा खोज र नष्ट गर अभियान यसै सातादेखि सञ्चालन गर्न लागेको जनाएको छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त रोग फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न सरोकार भएको निकायहरूको सहकार्यमा उक्त अभियान सञ्चालन गर्न लागिएको महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त कार्य नगर प्रहरीमार्फत टोल टोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचार प्रसार गर्ने तथा वडास्तरमा गठन भएको द्रुतप्रतिकार्य टोलीसमेत परिचालन गर्ने प्रमुख पौडेलले बताए ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ आफ्नो टोल टोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कसप तथा टायरलगायत सडक किनारामा राखिएको वस्तुमा पानी जम्न नदिनेजस्ता कार्य गरिने भएको छ ।

लक्षण कस्तो हुन्छ

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्छ । यो रोग लाग्दा ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछ ।

असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छ । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।

यसबाट बच्ने उपाय

यो रोगबाट बच्न मुख्यतया लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि लामखुट्टे बस्ने स्थान जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनु हुँदैन ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ४ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।