२९ असार । बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका ९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।
बिहीबार साँझ लालझाडी गाउँपालिका ६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी ९ का वडाध्यक्ष किसन रानाले जानकारी दिएका छन् । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
डगौंरालगायत १० १२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो । “सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो”, वडाध्यक्ष रानाले भने, “आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।” यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो ।







प्रतिक्रिया