१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरको  अनुमानित रु. २५ अर्ब ५४ को बजेट पारित



२९ असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नगरसभामा पेश गरेको बजेट आज सर्वसम्मतले पारित भएको छ ।
कामपा उपप्रमुख सुनिता डङ्गोलले यही असार १० गते आगामी आवका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् । आज बसेको नगरसभाको पाँचौँ बैठकमा  महानगरका मेयर बालेन्द्र शाहले बजेटलाई निर्णयार्थ पेश गर्नुहुँदा पारित भएको हो ।
महानगरको १३औँ नगरसभाको पहिलो बैठक असार ६ गते बसेको थियो । महानगरपालिकाले ल्याएको रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पूँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ ।
यही असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढङ्गले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो । असार २६ देखि सुरु भएको बजेटमाथिको छलफल आज  सकाएर नगरसभाबाट पारित भएको हो ।
चालु अवाको भन्दा आगामी आवका लागि कामपाले रु करिब १४ करोडले बढी बजेट ल्याएको छ । आगामी आवमा बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकताका साथ विनियोजन गरिएको छ । पूर्वाधारमा सबैभन्दा धेरै रु सात अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । शिक्षामा रु एक अर्श ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ ।
चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयले बजेटमा स्थान पाएका छन् । आगामी आर्थिक वर्षका लागि महानगरलाई सङ्घीय सरकारबाट रु दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ ।
महानगर गौरवको योजनाका लागि रु तीन अर्ब ८० करोड विनियोजन गरिएको छ । महानगर स्वर्णिम योजनाअन्तर्गत २५ विषयगत क्षेत्रका योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि रु एक अर्ब ७६ करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ५ : ५४ बजे