९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भलिबल टिमका कप्तान थापा बर्खास्त, दर्शक कुट्ने खेलाडीलाई ६ महिना प्रतिबन्ध



३१ असार । हरिहजुर थापा राष्ट्रिय भलिबल टिमको कप्तानबाट बर्खास्त भएका छन् । नेपाल भलिबल संघले थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको हो । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण थापालाई कप्तानबाट बर्खास्त गरिएको जानकारी दिए ।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगअन्तर्गत त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलमा आक्रोशित आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । उक्त घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले थापालाई कप्तानबाट हटाएको हो ।

थापा आर्मीका कप्तान पनि हुन् । गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको संघको ठहर छ । थापामा राष्ट्रिय टोलीको कप्तानी गर्ने क्षमता नदेखिएको पनि महासचिव श्रेष्ठले बताए ।

इम रानाले राष्ट्रिय टोली प्रशिक्षणमा सहभागी नहुने निर्णय गरेपछि संघले गत महिना मात्र थापालाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो । उनकै कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिग खेलेको थियो ।

यस्तै संघले उक्त खेलका क्रममा दर्शकमाथि कुटपिट गर्ने आर्मीका अन्य तीन जना खेलाडीलाई पनि कारबाही गरेको छ । संघले दर्शकलाई मुक्का हान्ने राष्ट्रिय टोली तथा आर्मीका स्पाइकर धनबहादुर भट्टलाई ६ महिनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

यस्तै संघले राष्ट्रिय टोलीका सदस्य तथा आर्मीका खेलाडी राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । आर्मीकै अर्का खेलाडी दुर्गा खड्कालाई भने चेतावनी दिएर छोडिएको महासचिव श्रेष्ठले जानकारी दिए ।

संघले उक्त विवादित खेलको रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरी कारबाही गरेको पनि महासचिव श्रेष्ठले बताए । छानबिन समितिले खेलाडी, दर्शक र भलिबलमा संलग्नहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा समेत कडाइ गर्न भलिबल संघलाई सुझावसमेत दिएको छ ।

महासचिव श्रेष्ठको संयोजकत्वमा गठन भएको छानबिन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन रहेका थिए । छानबिन समितिले आर्मीका खेलाडी, टोली, उजुरी दिने दर्शकलगायतको बयान लिएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ११ : ०८ बजे