९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एसीसी इमर्जिङ टिम्स एसिया कप: नेपालले यूएई ‘ए’लाई हरायो



३ साउन । कुशल भुर्तेलको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ‘ए’लाई पराजित गरेको छ । श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा बुधबार भएको खेलमा नेपालले यूएई ‘ए’लाई ३ विकेटले पराजित गरेको हो ।

यूएई ‘ए’ले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ७१ रनको शानदार अर्धशतकीय इनिङ खेले । नेपालका अर्का ओपनर अर्जुन साउद भने इनिङकै पहिलो बलमा आउट भएका थिए ।

यस्तै देव खनाल ३८ बलमा ४ चौकासहित २४ रन बनाउँदै आउट भए भने सन्दीप जोरा १५ बलमा १ चौका र २ छक्कासहित २४ रन बनाउँदै आउट भए । गुलशन झा ११ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल ९ रनमा आउट हुन पुगे । पवन सर्राफ शून्य रनमा आउट भए । कुशल मल्ल २ रनमा अविजित रहे । प्रतिश जि.सीले लगातार दुई चौका हानेर ८ रन जोड्दै खेल सकाएका थिए । यूएईका लागि मोहम्मद फराजुदिनले ६ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर सर्वाधिक ५ विकेट लिए भने जवादुल्लाहले ६ ओभरमा ४० रन खर्चिँदै दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको यूएई ‘ए’ ४४ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । यूएई ‘ए’का लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय इनिङ खेले । इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए । यूएईका आर्यांस शर्माले १४ र जस जियान्नीले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल रहे ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए । कुशल भुर्तेलले करियर कै सफल बलिङ गरेका हुन् । राष्ट्रिय टिमबाट भुर्तेलले एकै इनिङमा लिएको यो सर्वाधिक विकेट हो । यस्तै नेपालका लागि श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १/१ विकेट लिए ।

 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : ५० बजे