१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तारै तारले जेलिएको छ राजधानी काठमाडौं



१७ साउन । राजधानी सहर काठमाडौँका सडकमाथिका दायाँबायाँ भागमा तारैतारले जेलिएको दृश्य जताततै देखिन्छ ।

जेलिएका तारमा विद्युत् सर्ट भई आगलागी हुने घटना बेलाबेलामा भइहेका हुन्छन् । यी तार व्यवस्थित गर्न प्रयास नभएका पनि होइनन् तर यसले सार्थक रूप लिन नसक्दा राजधानी सहर कुरूप भएको महानगरवासीको गुनासो छ । बिजुली, टेलिफोन, केबल नेटवर्क, इन्टरनेटलगायतका तार विद्युत्को पोलमाथिबाट लगिएको छ ।

यसरी जेलिएको तारलाई व्यवस्थित गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिकाजस्ता निकाय लागि परे पनि यसले सार्थक रूप लिन सकेको छैन । महानगरपालिका ११ का वडाध्यक्ष हीरालाल तण्डुकार तार व्यवस्थापनका लागि पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गर्छन् ।

पहिले मन्दिरै मन्दिरको सहरका नामले विश्वमा विख्यात भएको काठमाडौँ तारैतारले कुरूप भयो भनी प्रचार होला भन्ने चिन्ता लाग्न थालेको उनले बताएका छन् । महानगरसभा र कार्यपालिकाको बैठकमा सदस्यले यसलाई व्यवस्थापनका लागि पटकपटक आवाज उठाउने गरेका छन् । तार व्यवस्थापनले सार्थक रूप भने पाउन सकेको छैन । प्राधिकरणले विद्युत् पोल भाडाको विषय बेलाबेलामा उठाउने गरेको छ ।

धेरै निकाय जोडिने तार व्यवस्थापनको काम समन्वयात्मकरूपमा अघि नबढाउँदा समस्या समाधानमा समय लागेको असन निवासी राजेन्द्र बज्राचार्य बताउछन् । कार्यालय र पदाधिकारी विशेषले चाहेरमात्र समाधान नहुने समस्या भएकाले समन्वयात्मकरूपमा काम गरिनुपर्ने उनको भनाइ छ ।

तार व्यवस्थापनको काम सुरु भएका स्थानमा राम्रो देखिन थाले पनि पूरा हुन सकेको छैन । काम पूरा नहुनुमा सरोकार भएका निकायका बीच समन्वय हुन नसक्नु मुख्य कारण रहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ४३ बजे