४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद्को अवरोध खुलाउन प्रतिपक्ष दलसँग पहल गर्छुः प्रधानमन्त्री



१ भदौ । लामो समयदेखि अवरुद्ध संघीय संसदको बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताए । उनले भने, “म सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।”
राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलमा सुन बरामद गरेको थियो । साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संघीय संसदका दुवै सदनको बैठक अवरोध गर्दै आएको छ । उच्चस्तरीय छानबिन समितिको माग गर्दै भइरहेको अवरोधका कारण सदनको नियमित काम कारबाही अघि बढ्न सकेको छैन । सरकारले भने सरकारी निकाय र अङ्गले नै निष्पक्ष छानबिन गर्ने स्पष्ट पार्दै आएको छ ।
आजको भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो भएन भन्दै तत्काल पहल थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । “माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायतका विषयमा माननीयले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन”, सभामुख घिमिरेले भने, “आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।”

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ७ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।