१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सांग्रिला डेभलपमेन्ट एशोसिएसन दशौं वर्षमा



३ भदौ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई मकवानपुर र जुम्लालाई कार्यक्षेत्र बनाइ काम गर्दै आएको गैर–सरकारी संस्था सांग्रिला डेभलपमेन्ट एशोसिएसन दशौं वर्षमा प्रवेश गरेको छ ।

संस्थाले शनिबार ललितपुरस्थित धोविघाटमा एक कार्यक्रमकाबीच नवौं वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शरण मिजारको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष मुक्तानले विभिन्न चुनौतीका बाबजुद पनि सांग्रिलाले गाउँपालिकामा गरेको कामको प्रशंसा गरे । उनले स्थानीय सरकारको विकासमा गैरसरकारी संघसंस्थाको पनि महत्वपूर्ण भूमिका रहेको बताए । सांग्रिलाले गाउँपालिकामा रहेर स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा गरेको कामप्रति उनले धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा कैलाश गाउँपालिकाका उपाध्यक्ष बाल कुमार मल्ल ठकुरीले गाउँपालिकामा रहेर सांग्रीलाले गरेको कामको प्रशंसा गर्दै अझ यसलाई बढाउन आग्रह गरे । उनले सांग्रीलाकै कारण गाउँमा सचेतना समेत बढ्न थालेको बताए ।

कैलाश गाउँपालिका वडा नं.३,४ र ७ को प्रतिनिधित्व गर्दै वडा नं.७ का अध्यक्ष उदासकुमार भोलनले सांग्रीला दशौं वर्षमा आइपुग्दा गाउँपालिकामा रहेर राम्रो काम गरेको बताए ।

कार्यक्रममा सांग्रीला अर्फानेज होमकी अध्यक्ष निता शाहीले सेवा गर्दा फलको आशा गर्न नहुने भन्दै संस्थालाई दिगो रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

संस्थाका सचिव दशरथ घिमिरेले गत आर्थिक वर्ष २०७९/८० संस्थाको प्रगति प्रतिवेदनका साथै भावी कार्य योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रिता कँडेलले गत आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष शरण मिजारले आगामी दिनमा संस्थाले स्थानीय सरकारकासँग साझेदारी गर्दै काम गर्ने बताए ।

कार्यक्रममा संस्थाका मकवानपुर र जुम्लाका फिल्ड संयोजक र परियोजना संयोजकहरुले आर्थिक वर्ष २०७९÷८० मा भएका कामको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै वार्षिक साधारणसभाले प्रकृति भण्डारीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा तारा कार्की, सचिवमा दशरथ घिमिरे र कोषाध्यक्षमा रिता कँडेल चयन भएकी छन् । यस्तै सदस्यहरुमा शरण मिजार, विकास तिमल्सिना र जगदीश्वर उपाध्याय चयन भएका छन् ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, संस्थाका साधारण सदस्य लगायतको उल्लेख्य सहभागिता रहेको थियो । सन् २०१४ सालमा स्थापना भएको सांग्रिला डेभलपमेन्ट एशोसिएसनले जुम्लामा बहिरा बालबालिका र मकवानपुरमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ३ : ३३ बजे