४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद् अवरोध हटाउने सहमति



४ भदौ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार भोलिसम्म कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरुबीच सहमति जुटेको छ ।

मङ्गलबारसम्म छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा(एमाले)का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा(माओवादी केन्द्र)का नेता हितराज पाण्डे सदस्य रहने गरी आजको बैठकले कार्यादेश समिति गठन गरेको छ ।

लामो समयदेखिको संसद्को गतिरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलहरूको बैठक आह्वान गरेका थिए । राष्ट्रिय दलहरुको आजको बैठकमा संसद् सञ्चालन गर्नेबारे सकारात्मक छलफल भएको तथा त्यसका लागि सबै विकल्प र सम्भावना खोजिने गरी दलहरुबीच सहमति भएको कांग्रेस नेता लेखकले जानकारी दिए । उनले अब निर्धारित समयमै संसद् बैठक बस्ने सहमति भएको समेत बताए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवलगायतको सहभागी थिए ।
यसअघि आइतबार पनि राष्ट्रिय दलहरुको बैठक बसेकोमा विना निष्कर्ष सकिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।