२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ
७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गरिने विश्वास दिलाएका छन् ।
गौरा पर्व २०८० का सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस पर्वलाई राष्ट्रिय मान्यता दिने विषयमा मन्त्रिपरिषद्को बैठकमासमेत छलफल भएको जानकारी दिए । उनले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिने विषयमासमेत आफू सकारात्मक रहेको बताए ।
सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले गौरा पर्वको अवसरमा राष्ट्रिय बिदा दिनका लागि तिथि तय गरी आउन सुदूरपश्चिम प्रदेशका नागरिकलाई आग्रहसमेत गरे ।
प्रधानमन्त्रीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालय स्थापना गरी शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गर्नुहुँदै तेस्रोपटक प्रधानमन्त्री हुँदा गेटा मेडिकल कलेजलाई चिकित्सा शिक्षासम्बन्धी विश्वविद्यालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले महाकाली करिडोर, दोधरा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासमेत अगाडि बढाइएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिलाई केन्द्रमा राखेर आफूले गतिविधि अगाडि बढाएको जानकारी दिँदै ती प्रदेशका जनताको जीवनस्तर माथि नउठ्दासम्म मुलुक समृद्धिको चरणमा प्रवेश नगर्ने बताए ।
“ती प्रदेशका जनताको जीवनमा समृद्धि नआउँदासम्म, त्यहाँ समानता नआउँदासम्म कुनै समृद्धि आउँदैन”, उहाँले भन्नुभयो, “सुपको पहिचान, अधिकार र समृद्धिको पक्षमा आफू निरन्तर लागिरहेको छु ।” उनले गौरा पर्वको सबैलाई शुभकामना दिनुहुँदै बधाईसमेत व्यक्त गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन प्रधानमन्त्रीसमक्ष माग गरे । यस पर्व नेपालको सुदूरपश्चिम र कर्णालीका साथै भारतको उत्तराखण्डका केही भागमा समेत मनाउने प्रचलन रहेको उल्लेख गर्दै उनले यसको महत्वलाई स्थापित गर्न आवश्यक रहेकोमा जोड दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले राष्ट्रिय बिदाका सम्बन्धमा केही अप्ठ्यारा रहेको जनाउँदै तिथिका आधारमा निर्णय गर्नुपर्ने भएकाले सहमति गर्नुपर्ने बताए । सबै नेपालीले यस पर्वलाई माया गरेकामा धन्यवाद दिनुहुँदै उनले गौराको महिमालाई थप विस्तार र विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, नेकपा (एमाले)का नेता डा भीमबहादुर रावल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतको उपस्थिति थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति देउवा, एमाले नेता डा रावललगायतले देउडा खेलेका थिए । काठमाडौँ उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दाले आजैका दिन गौरा पर्व मनाउने र देउडा खेल्ने प्रचलन छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ३ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।