८ भदौ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले एक सूचना जारी गर्दै आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको जानकारी दिएकी छन् ।
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । तर त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।
‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभ, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, उक्त सूचनामा उल्लेख छ ।









प्रतिक्रिया