११ भदौ । प्रहरीले काठमाडौंको टोखा नगरपालिका–१ झोरबाट १३ जनलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। शनिबार झोरस्थित दुर्गा कार्कीको जग्गामा एकराज कँडेलले सञ्चालन गरेको कृषि फार्ममा भएको टिनको टहरामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।
जुवा खेलिरहेकाहरुको साथबाट प्रहरीले ३ लाख २६ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ। जुवा खेलिरहेको भन्ने सूचना पाएलगत्तै प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा झापाको शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीया सरस्वती मगर, काभ्रेको चौरीदेउराली–३ का ३१ वर्षीय दीप लामा, काठमाडौंको तारकेश्वर–१ का ४४ वर्षीय रोशन ठकुरी, धादिङको थाक्रे गाउँपालिका–१० का ६२ वर्षीय काशिनाथ कोइराला, तारकेश्वर–१ कै ६४ वर्षीय संगे तामाङ, ओखलढुंगाको सुनकोशी–९ का ३५ वर्षीय दिनेश तामाङ र पोखरा महानगरपालिका–९ का ५० वर्षीय कुमार अधिकारी रहेका छन्।
यस्तै उदयपुरको रौतामाई–५ का ३६ वर्षीय चक्रबहादुर राई, नुवाकोटको शिवपुरी–८ का ३१ वर्षीय सन्तोष डंगोल, धादिङको धुनिवेसी–८ का ५० वर्षीय माधव भण्डारी, काभ्रेको धुलिखेल–६ का ४४ वर्षीय राजन श्रेष्ठ, नुवाकोटको शिवपुरी–३ का २८ वर्षीय शिव बस्नेत र गोरखाको सहिदलखन गाउँपालिका–१ का ४७ वर्षीय सरोज थापामगर रहेका छन्।
उनीहरुको साथबाट नगदसहित जुवा खेल्न प्रयोग भएका १६ थान कौडा पनि बरामद भएको छ। पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया