नाचको नियम कडा छ, देवगणले मुखुण्डो लाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहीँ बस्न पाइँदैन, बस्नैपरे पनि ज्वकालुको काखमा या जिउमा अढेस लगाएर बस्नुपर्छ
भक्तपुर
१६ भदौ । मल्लकालदेखि सुरु भएर प्रत्येक वर्ष मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि लगातार चार रात मनाइने प्रसिद्ध ऐतिहासिक एवं तान्त्रिक शक्ति बोकेको भैरव नाचको शनिबार रातिदेखि सुरु भएको छ ।
मध्यपुरथिमि नगरपालिका ६ स्थित चपाचो द्यः छेंःबाट सुरु भएको भैरव नाच चपाचो नास द्यः गणेश मन्दिर प्राङ्गण, गार्चा गणेश मन्दिर अगाडि, थामद्यः, गुङ्ग चिवा अगाडि र पछाडि, कुतिं चिवाः, हात्ती महाँकाल, दिगु टोल, इना लाछी, लायकु, दतलय, मरुटोल, बालकुमारी पछाडि, बालकुमारी अगाडि, बालकुमारी भैलः द्यः अगाडि, दिगु टोल भैल द्यः अगाडि, दिगु टोल नारांद्य, कृचि तिवा, कुम्हाननी, तुलंननी, नासननी, चपाचो, जंलाननी, चपाचो द्यः छेंमा रातभरि नाच प्रदर्शन गरिएको हो ।
तन्त्रमन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारण गरेपछि सुरु हुने भैरव नाचमा भैरव दुई जना, दाङ्गी दुई जना र ज्यापुंगचा एक जना गरी पाँच जनाको टोलीले रातभर नाच प्रदर्शन गरेका हुन् । नाचमा धांः बाजा, भुस्याः, पोंगा र म्वाय्ली बाजा बजाएर सोही बाजाको तालमा नाच्ने गरिन्छ ।
यस वर्षको नाचमा सरगत प्रजापति ज्यापुंगः चा, श्यामसुन्दर प्रजापति म्यापा भैल अर्थात् भैरव, राजन प्रजापति लु भैलः अर्थात् भैरव, निरोज प्रजापति न्हापा दाङ्गी र नयन प्रजापति लु दाङ्गी बनेर नाचिरहेको स्थानीय रामकृष्ण शङ्खदेवले जानकारी दिएका छन् ।
धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ (नसःद्य)को प्राङ्गणमा भने सबै तालमा नचाउने गरिन्छ । मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रवधान रहेको छ ।
प्राचीनकालमा मध्यपुरथिमिमा भूत, प्रेत, पिसाचले दुःख दिन थालेको त्यसको निराकरण गर्न प्राचीनकालमा लाय्कु भैलःको रूपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिसाच भगाउने गरेको जनविश्वास रहेको छ ।
आर्थिक अभावकै कारण मध्यपुरमा लोप भइसकेको यो जात्रालाई स्थानीय बासिन्दाले विगत केही वर्षयता पुनः सञ्चालनमा ल्याएपछि यस वर्ष पनि जात्रा सञ्चालन गर्न एक महिनादेखिको तयारी गरिएको थियो भने १५ दिन अगाडिदेखि देवगण बन्नेले तान्त्रिक विधिअनुसार नाच सिकेका थिए ।
बोडेमा नीलबाराही नाच सुरु, पूजा गर्नेको घुइँचो
मध्यपुरथिमि नगरपालिका ८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच शुक्रबार मध्यरातिदेखि सुरु भएको छ ।
बोडे सहरमा भव्यरूपमा मनाइने नीलबाराही नाच गाईजात्राको भोलिपल्टको मध्यरातिबाट बोडेको अखा द्यों छें अर्थात् देवता घरबाट सुरु भई आज बिहान करिब ११ः०० बजेसम्म देवगण सहरको विभिन्न चोक एवं टोलमा नाचिरहेको र स्थानीयले पूजा गरिरहेको मथिनपा ८ बोडेका वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले जानकारी दिएका छन् ।
मध्यरातिदेखि सुरु भएको नाचपछि आज बिहान टोलवासीको पूजा गर्नेको घुइँचो लागेको छ । आज बिहान नीलबाराही नाचका सबै देवगणलाई स्थानीयले पूजा गर्ने गर्दछन् । आज दिउँसो मध्याह्नसम्म अनवरतरूपमा यो नाच नाचिने र पूजा हुने स्थानीय जात्रा संरक्षणकर्मी दिलकृष्ण प्रजापतिले जानकारी दिए ।
देवगणहरू नियमभन्दा बाहिर जानु हुँदैन। नियम कडाइका साथ पालना गर्नुपर्छ, पालना नभए उसैलाई असर गर्छ ।
बोडेका नेवार समुदायले मनाउँदै आएको यो नाच जिब्रो छेड्ने जात्रापछिको ठूलो नाच हो । पन्ध्र दिनअघिदेखि मूलघरमा सिकाइँदै आएको यो नाच राति, बिहान र दिउँसो टोलटोलको चोकचोकमा देखाइने उनले बताए ।
नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छें, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।
देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९ जना, गुरु छ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने नौ जना गरी यो नाचमा एक सय जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् ।
दैनिक १० देखि १४ घण्टासम्म दैवीशक्तिको आधारमा परम्परागत नियममा बाँधिएर बोडेमा मनाइने नीलबाराही नाच कहिलेदेखि सुरु भएको भन्नेबारे यकिन नभए पनि भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको हुनुपर्ने प्रजापतिले बताए ।
नीलबाराही देवीले एक दिन मानिसका रूपमा बोडे सहर आएर स्थानीय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी राखेर नाचको सम्पूर्ण विधि, विधान सिकाएर पठाएपछि यो नाच सुरु भएको किंवदन्ती एवं जनविश्वास रहँदै आएको छ ।
नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओढ्न नहुने, दिसा–पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम छ । नीलबाराही नाचका पङ्गा बाजाका भरत लुमद्योंले भने, “नाचको नियम कडा छ, देवगणले मुखुण्डो लाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि कहीँ बस्न पाइँदैन, बस्नैपरे पनि ज्वकालुको काखमा या जिउमा अढेस लगाएर बस्नुपर्छ ।”
उनले नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुँदैन भन्ने मान्यता रहेको बताए । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमारसमेत गर्नु हुँदैन ।
“देवगणहरू नियमभन्दा बाहिर जानु हुँदैन”, नाचका धां बाजाका रवीन्द्र भिन्दुवाले भने, “नियम कडाइका साथ पालना गर्नुपर्छ, पालना नभए उसैलाई असर गर्छ ।” परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेको छ । प्रत्येक वर्ष भाद्र द्वितीयादेखि पञ्चमीसम्म यो नाच चल्ने गर्दछ । बिहानीपख देवगणलाई पूजा गर्ने स्थानीयको घुइँचो लाग्ने गर्छ । जात्रा पहिलो बिहान सकिन्छ, दोस्रो र तेस्रो दिन भने बिहान ४ः०० बजे सुरु भएर साँझ सम्पन्न हुन्छ ।
नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेवारी भाषामा ‘प्याँखा स्यनेगु’ भनिन्छ । नाच सिकाउँदा ताः लगायतको बाजा बजाइने परम्परा रहेको छ ।
आर्थिक समस्याका कारण देवगणमा देवता बन्न चाहनेको सङ्ख्या घट्दै गएकामा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । भगवान्प्रतिको आस्था र परम्परा जोगाउनकै लागि यहाँका बासिन्दाले नाचलाई निरन्तरता दिइरहेका छन् ।
प्रतिक्रिया