काठमाडौँ
३१ भदौ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्यबृद्धि (मुद्रास्फीति) काठमाडौँ उपत्यकामा आठ दशमलव ५० रहेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव ९५ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि छ दशमलव ४२ प्रतिशत बराबर रहेको छ ।
यो अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ११ दशमलव ४६ प्रतिशत बराबर रहेको छ । त्यस्तै, काठमाडौँ उपत्यकामा आठ दशमलव ५०, तराईमा छ दशमलव ७० र पहाडमा सात दशमलव ५० प्रतिशत मूल्यवृद्धि देखिएको छ ।
गत साउन महिनामा आयात एक दशमलव छ प्रतिशतले, निर्यात आठ दशमलव सात प्रतिशतले र कुल वस्तु व्यापार घाटा शून्य दशमलव सात प्रतिशतले घटेको छ । त्यस्तै विप्रेषण आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलव आठ प्रतिशतले बढेर रू एक खर्ब १६ अर्ब दुई करोड पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति रू ३२ अर्ब ९० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति रू १५ खर्ब ७३ अर्ब १२ करोड बराबर रहेको छ ।
साउन महिनामा सरकारको खर्च रू ३५ अर्ब चार करोड र राजस्व परिचालन रू ७८ अर्ब ८७ करोड रहेको छ ।
यो अवधिमा विस्तृत मुद्राप्रदाय दुई दशमलव चार प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १० दशमलव आठ प्रतिशतले बढेको छ ।
साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन दुई दशमलव तीन प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव एक प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव आठ प्रतिशत रहेको छ ।
प्रतिक्रिया