गण्डकी
६ असोज । अहिलेका उम्दा गायक प्रकाश सपूत चलचित्र ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै छन् । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी फुरुङ्ग छन् । गायन करिअरको शिखरमा रहेकै बेला सपूतको ‘हिरो’ बन्ने सपना पनि पूरा हुँदैछ ।
गायकका रुपमा उनी जति सफल छन्, अभिनयमा पनि उसरी नै आफूलाई उतार्न सक्नुहोला त ? यो प्रश्नको जवाफ थाहा पाउन आउँदो २६ गतेसम्म कुर्नुपछ । वडा दसैँको छेकोमा फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउँदैछ ।
सपूतकै भनाइमा अभिनेताका रुपमा यो उनको परीक्षा हो । “ब्राण्ड ब्यानर र सफल फिल्मको सिक्वेल भएकाले पनि मुख्य पात्रका रुपमा मप्रति दर्शकको चासो र अपेक्षा रहनु स्वभाविक हो”, सपूतले भने, “यसलाई मैले धेरै गम्भीर रुपमा लिएको छैन, बरु पहिलोपटक फिल्ममा अभिनय गर्दैछु, हिरो बन्दैछु भन्ने कुराले दङ्ग र उत्साहित छु ।”
सफलताको विरासत जोडिएको फिल्म भएकाले त्यसको ओजलाई धान्नुपर्छ भन्ने महसुस आफूलाई भइरहेको उनले बताए । “मैले गायकका रुपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो फिल्म अभिनयमा पनि जोडिन्छ”, उनले भने, “फिल्म चल्ने÷नचल्ने विषय दर्शकको हातमा छ ।”
फिल्ममा अभिनय गर्ने सपना ‘परदेशी २’ बाट पूरा हुन लागेकामा सपूतले खुसी व्यक्त गरे । “फिल्मको कथा, पात्र र चरित्र निर्वाहका दृष्टिले फिल्मको सिक्वेल मिल्दोजुल्दो हुन सक्छ, तर व्यक्तिगत रुपमा भने मलाई नयाँ फिल्म, नयाँ कथामा अभिनय गर्दैछु भन्ने अनुभूति भइरहेको छ, ठूलो पर्दामा देखिने कुराले यसै फुरुङ्ग छु ।”
आठ वर्षअघिको फिल्म ‘परदेशी’ व्यावसायिक रुपमा सफल भएकाले पनि ‘परदेशी २’ माथि हलमा टिक्नैपर्ने दबाब छ । सपूतको अभिनय यात्रामा पनि यो फिल्म सुखद् प्रस्थान बन्न सक्छ या सक्दैन, त्यो अझै पनि समयको गर्तमा छ । म्यूजिक भिडियोको अभिनय र नृत्यमा रुचाइएका उनलाई चलचित्र फाप्ने हो या होइन यसै भन्न सकिन्न ।
सपूतले ‘परदेशी २’ को प्रदर्शनपछि अरु चलचित्रमा आबद्ध हुने या आफैँले फिल्म बनाउने भन्नेबारे अहिले नै केही खुलाउन चाहेनन् । उनले यसअघि पनि फिल्म निर्माण र निर्देशनमा लाग्ने सङ्केत गरेका थिए । अहिलेलाई उनी देशविदेशका साङ्गीतिक यात्रालाई थाँती राखेर चलचित्रको प्रचारमा खटिएका छन् । ‘परदेशी २’ कथामा आधारित नाटक लिएर देशका विभिन्न सहरमा जान लागिएको सपूतले बताए ।
“फिल्मको प्रचारात्मक कार्यक्रम लिएर मसहित चलचित्रको टिम विभिन्न सहरमा पुग्दैछौँ, म आफैँले पूरै समय चलचित्रको प्रवर्द्धनलाई दिएको छु, दर्शकहरु भेटिरहेको छु”, उनले भने, “दर्शको साथ र प्रतिक्रियाले हामी उत्साहित छौँ, दर्शकमाथ पुग्नुको आनन्द अरु केहीसँग तुलना हुन सक्दैन ।”
बिहीबार र शुक्रबार नारायणगढ, आउँदो ७ र ८ गते नेपालगञ्ज, ९ र १० गते बुटवल र ११ र १२ गते पोखरामा चलचित्रको कथामा आधारित नाटक मञ्चन हुने जनाइएको छ । चलचित्रको प्रचारका क्रममा सपूतले आफ्ना लोकप्रिय गीतसमेत सुनाउने गरेका छन् ।
नारायण रायमाझी निर्देशित सो फिल्ममा सपूतसँगै केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलियालगायतको अभिनय छ । रायमाझी र राजेश वंशलको संयुक्त निर्माण रहेको फिल्ममा प्रवासी नेपालीको कथालाई समेटिएको जनाइएको छ ।
फिल्मको ‘हिजो काम, आज काम, काम विदेशमा’ गीत बुधबार म्यूजिक नेपाल युट्युबाट सार्वजनिक गरिएको थियो । सो गीतमा पनि सपूतको अभिनय देख्न सकिन्छ । बागलुङको काठेखोला गाउँपालिका ३ धम्जामा जन्मनुभएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत चर्चित छन् ।
सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन् । सपूतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ । केही दिनअघि भारतीय योगगुरु रामदेवले सपूत नेपालका सलमान, साहरुख र अमिर खानभन्दा ठूला स्टार रहेको भन्दै प्रशंसा गरेका थिए । पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा गायक सपूतले प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया