२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री दाहाल चीनमा, उच्चस्तरीय भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त



बेइजिङ
६ असोज । प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् । उनीहरूबीचको सो वार्तामा द्घिपक्षीय हित र चासोका साथै नेपाल–चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी आजै प्रधानमन्त्री दाहाल सोही सहरमा आयोजना गरिएको १९औँ एसियन गेमको समुद्घाटन समारोहमा पनि सहभागी भएका थिए । त्यहाँ उनलाई चिनियाँ खेलकुद अधिकारीहरूले स्वागत गरेका थिए ।

त्यसैगरी आजै हाङ्चाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गरेको दिवाभोजमा सहभागी भएका थिए । त्यस अवसरमा नेपालको भ्रमण दलका अन्य सदस्यहरू पनि सहभागी भएका थिए ।


आज स्थानीय समयअनुसार बिहान साढे १० बजे प्रधानमन्त्री सो सहरको हाङ्चाओ विमानस्थलमा अवतरण गरेका थिए । उनलाई सो विमानस्थलमा चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल न्यूयोर्कबाट नै चीन आइपुगेका हुन् । यही सेप्टेम्बर २२ मा नेपालका तर्फबाट सो महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल चीनको औपचारिक भ्रमणका लागि यहाँ आएका हुन् । प्रधानमन्त्री दाहालको भ्रमणदलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अन्य सदस्यहरू पनि छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुगेका हुन् । प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर आइपुगेका थिए ।

 

त्यस्तै प्रधानमन्त्री दाहाल भोलि आइतबार चीनको राजधानी सहर बेइजिङ आउने कार्यक्रम छ । उनी आइतबार बिहान ११ः१० बजे आइपुग्ने कार्यक्रम रहेको छ ।

बेइजिङमा भोलि हुने नेपाल चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका छन् ।

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी व्यवसायी सहभागी रहने जनाइएको छ । उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।

आइतबार नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यस्तै सोमबार प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्ने छन् । त्यस्तै सोमबार नै प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षी चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । सोही दिन नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ ।

त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने छन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ३ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।