१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘परदेशी २’ प्रचार गर्न गीति नाटक प्रर्दशन



गण्डकी

१३ असोज । परदेशिएका नेपालीको कथामा आधारित चलचित्र ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले चलचित्रको प्रचारका लागि देश दौडाहामा निस्केको छ ।

चलचित्रको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित चलचित्रको प्रचारात्मक कार्यक्रम भइरहेको चलचित्रका निर्देशक नारायण रायमाझीले बताएका छन् । विद्यालय र कलेजमा गीति नाटक देखाउने गरिएको उनको भनाइ छ ।

चलचित्रको निर्माण टिमले बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चनसहित चलचित्रबारे जानकारी गराएको थियो । चलचित्रका अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी पनि चलचित्र प्रवद्र्धनमा सक्रिय छिन् । सपूत अध्ययनका लागि विदेशिएको युवाको भूमिका चलचित्रमा देखिँदै छन् ।

नारायणगढ, नेपालगञ्ज र बुटवलमा प्रचारात्मक कार्यक्रम भइसकेको निर्देशक रायमाझीले बताए । पोखरापछि पूर्वी नेपालका विभिन्न सहरमा फिल्मको टिम पुग्ने जनाइएको छ । बडादसैँको छेकोमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ सपूत अभिनित पहिलो चलचित्र हो ।

गायन करिअरको शिखरमा रहेकै बेला सपूत ‘परदेशी २’बाट नायकका रुपमा उदाउँदै छन् । अभिनेत्री अधिकारीको अभिनय यात्रामा भने यो ३३औँ चलचित्र हो । पहिलोपल्ट ‘हिरो’ का रुपमा ठूलो पर्दामा आउँदा दङ्ग र उत्साहित रहेको सपूतले बताए ।

“नायकका रुपमा यो मेरो परीक्षा हो, सुरुमै ब्राण्ड ब्यानर र सफल चलचित्रको सिक्वेलमा अभिनय गर्न पाउनु आफैमा सुखद् कुरा हो”, सपुतले भने, “अहिले चलचित्रको प्रचारका क्रममा दर्शकहरु भेटिरहेका छौँ, राम्रो प्रतिक्रिया आइरहेको छ ।”

विद्यालय र कलेज केन्द्रित प्रवद्र्धनको कार्यक्रमले नयाँ पुस्तालाई चलचित्रप्रति अभिरुचि जगाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । नायिका केकी अधिकारीले मौलिक कथामा राम्रो चलचित्र बनेको बताइन् । आफ्नो चलचित्र करिअरमा ‘परेदशी २’ले विशेष अर्थ राख्ने उनले बताइन् ।

“परदेशी २ नेपाली परिवेश र जनजीवनको कथा हो, चलचित्र राम्रो बनेको छ, दर्शकको साथ पाउनेमा हामी ढुक्क छौँ”, उनले भने । शुक्रबार नायक सपूतको गृहजिल्ला बागलुङमा ‘परदेशी २’को प्रिमियर शोसमेत राखिएको थियो । जिल्लावासीले बाजागाजासहित उनलगायत चलचित्रका कलाकारलाई विशेष स्वागत गरेका थिए ।

उनले ‘परदेशी २’ को प्रर्दशनपछि मात्र चलचित्र निर्देशन र अभिनयमा विषयमा थप निर्णय लिने बताए । सपूतले यसअघि आफ्नै कथा र निर्देशनमा चलचित्र बनाउने सङ्केत गरेका थिए । उनका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’लगायत गीत चर्चित छन् ।

गायकका रुपमा ख्याती आर्जन गरेका सपूतलाई चलचित्र फाप्छ या फाप्दैन त्यो त हेर्न बाँकी नै छ । रायमाझीको निर्माण तथा निर्देशनमा यसअघि बनेको चलचित्र ‘परदेशी’ व्यावसायिक रुपमा सफल भएको थियो । सोही फिल्मको सिक्वेलका रुपमा ‘परदेशी २’ निर्माण गरिएको हो ।

चलचित्रमा सपूत र अधिकारीसँगै वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलियालगायत कलाकारको अभिनय रहेको छ । नारायण रायमाझी र राजेश वंशलको संयुक्त निर्माण रहेको फिल्मका नेपालसहित भारत र अमेरिकामा छायाँकन गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ३ : १३ बजे