११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीकोे कालोबजारी र गठीलगायत निगरानी गर्न प्रहरीलाई सर्कुलर



काठमाडौँ
१७ असोज । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर जारी गरेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्था मजबुद बनाउन आवश्यक सुरक्षा योजना निर्माणमा जुटेको उपत्यका प्रहरीले तीनै जिल्ला र मातहतका युनिटलाई विशेष चनाखोका साथ प्रहरी सेवा प्रावाह गर्न सर्कुलर जारी गरेको कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

उहाँले सबै युटिनलाई सुरक्षा योजनाका साथै उपत्यकालाई शान्ति सुरक्षा र भयरहितरुपमा चाडपर्व मनाउने वातावरण निर्माणमा प्रहरीको मुख्य भूमिका रहने भएकाले विशेष निगरानी बढाउनसमेत निर्देशन पनि दिएका छन् ।

कार्यालयले उपत्यकाको मातहतका युनिटलाई जारी गरेको सर्कुलरमा चाडपर्वका बेला हुनसक्ने कालोबजारी, अवाञ्चित गतिविधि, चोरी, तस्करी नियन्त्रण, ठगी लुटपाट, अवैध गतिविधि, गाडीको तीव्र गति, यातायातको टिकटमा महँगो शुल्क लिने तथा ठग्नेजस्ता गतिविधि नियन्त्रणमा लाग्न भनेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कार्यालयबाट आवश्यक निर्देशन गइसकेको र प्रहरीले आआफ्नो क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त पारिसकेको बताए । उनका अनुसार उपत्यकाका लागि जनशक्ति थप गरी आवश्यक कार्य अघि बढाइसकिएको र केही जनशक्ति थप हुने क्रममा रहेका छन् ।

उपत्यकाको तीनै जिल्ला प्रहरी परिसरका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसहितका सुरक्षा युनिटका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर छुट्टै सुरक्षा योजना तयार गरी लागू गर्न पनि उपत्यका प्रहरीले निर्देशन दिएको छ ।
उपत्यकामा साविक सुरक्षा फौजमाथि गणमा रहेका सुरक्षाकर्मीसमेत थप गरेर चाडपर्वका बेला सुरक्षा निगरानी बढाउन थालिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  २ : ४० बजे