२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एसियाली खेलकुदमा नेपाललाई करातेकी एरिकाले जितिन् ऐतिहासिक रजत पदक



काठमाडौँ
२० असोज । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ ।
केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो ।

महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई करातेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

यसअघि आजै सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । आजै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भएकी थिइन् ।

योसँगै नेपालले जारी १९औँ एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।

 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  २ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।