२२ असोज । काठमाडौं महानगरभित्रका तीनवटा सडकखण्डलाई एकतर्फी बनाइने भएको छ । कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक, दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक र त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिंगाल निस्किने सडक एकतर्फी बनाउन लागिएको ट्राफिक प्रहरीले जनाएको छ।
ती सडक एकतर्फी बनाउने निर्णय भइसके पनि ट्राफिक संकेत राख्न र सार्वजनिक सूचना निकाल्न बाँकी छ। सूचना जारी भएपछि केही दिन यात्रु र चालकहरुलाई एकतर्फी बनाइएकोबारे जानकारी दिइनेछ। त्यसपछि अर्को सूचना निकालेर नियम कार्यान्वयनमा ल्याउने र उल्लंघन गर्ने चालकलाई जरिमानासहित गर्ने जनाइएको छ।
सडक एकतर्फी निर्णय कार्यान्वयनमा आए त्रिपुरेश्वरबाट सेतोपुल हुँदै सानेपातर्फ जान पाइए पनि फर्किन पाइनेछैन। जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइनेछैन। पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडकखण्डमा अब काठमाडौं प्लाजाबाट बायाँ मोडिएर महेन्द्र सालिकतर्फ जान पाइनेछैन।
प्रतिक्रिया