२४ असोज । विद्युतीय चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहुलसहित चार जनालाई प्रतिवादी बनाएर बुधबार मुद्दा दर्ता गरेको हो ।
सरकारी वकिलको कार्यालयले राहुलसहित सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४ सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियमका नागरिक ३९ वर्षीय दावा छिरिङ र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दायर गरिएको जानकारी दिएको छ ।
भेपमा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो । सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
महरा लगायत तीन जनालाई प्रहरीले भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा तीनदेखि पाँच वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे सात वर्षको कैद सजायको मागदाबी गरेको छ । बेल्जियमका नागरिक दाओजिन वाङलाई आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाइएको छ ।








प्रतिक्रिया