११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कपन आरम्भचोकसम्म खोला खोलेर मर्मत गर्ने ठेक्का उपत्यका विकास प्राधिकरणलाई



काठमाडौँ
२६ असोज । गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको आरम्भ चोकमाथिको बहाव क्षेत्र छुट्याउने काम काठमाडौँ उपत्यका विकास प्राधिकरणले गर्ने भएको छ ।
चावहिल, कपन क्षेत्रको रुद्रमती (धोबीखोला) बाट आरम्भचोक सम्मको खोला उत्खननको काम काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गरिएको थियो । आरम्भचोकसम्म खोलिएको खोलालाई त्यसमाथिको भागमा खोलेर आरसिसी ढलान गर्ने कामका लागि प्राधिकरणले ठेक्का गरी काम अघि बढाएको छ । यसका लागि प्राधिकरणले रु २३ करोडको ठेक्का गरेको हो । ड्रागन आरबि कम्पनीले ठेक्का पाएर काम अघि बढाउन लागेको महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामाले जानकारी दिएका छन् ।
प्राधिकरणले ठेक्का गरेर काम अघि बढाएपछि महानगरपालिकाले आरम्भ चोकमै यो काम छोडेको छ । खोला छुट्याउने कामसँगै आरम्भचोकसम्म जग्गाको नापजाँच पनि गरिएको छ । काठमाडौँ उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर सडक बनाई घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र चाहिलको सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको थियो । आरम्भचोकसम्म खोला खोलेपछि असोज दोस्रो साता भएको वर्षाद्मा आएको बाढीले कपन क्षेत्र डुबानमा नपरेको पनि वडा अध्यक्ष लामाले जानकारी दिएका छन् ।
यसबाट स्थानीयवासी खुसी हुनुका साथै यज्ञडोलसम्म नै खोला खोलेर खुला बनाउनुपर्ने आवाज उठाउन थालेका छन् । केही जग्गा व्यवसायीको स्वार्थमा खोला पुर्ने कामले समस्यामा परेको बुझेपछि अहिले स्थानीयवासी खोला खोल्नुपर्ने अभियानमा एकबद्ध भएको स्थानीयवासी चुडामणि कोइरालाले बताए ।
महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको थियो । तर बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ । खोलाको दायाँबायाँ चार÷चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भएपनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ । महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमलकुमार होडा नापी कार्यालयले यस क्षेत्रको नापी गरी सक्ने र पूर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तीका रुपमा कायम गरिने बताउछन् ।
यसका लागि प्राधिकरणसँग पनि समन्वय गरेर काम गर्न लागिएको उनले सुनाए । नापजाँच गरेर आएको पर्ती जग्गामा महानगरले आकर्षक बगैँचा बनाएर खुला क्षेत्रका रुपमा स्थापित गर्ने जनाइएको छ । यसरी बनेको खुला क्षेत्र भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला पनि उपयोगमा ल्याउन सकिने वडा कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : ४० बजे