४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुर खोकनामा श्री रुद्रायणी देवीको १२ वर्ष मेला आजदेखि शुरु हुँदै



२८ असोज । आजदेखि ललितपुरको खोकनामा श्री रुद्रायणी देवीको बाह्र वर्षे मेला शुरु हुँंदैछ । बाह्र वर्षमा एकपटक असोज शुक्ल द्वितियाको दिनबाट सुरु हुने श्री रुद्रायणी देवीगणहरु विभिन्न स्थानहरुमा द्यो काः वनेगु (भगवान लिन जाने) गरिन्छ । जात्राबारे ललितपुरको खोकनामा पत्रकार सम्मेलन आयोजना गरेर जात्राबारे जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बताइए अनुसार जात्राका क्रममा काठमाडौंको पचली भैरव, पुरानो खोकनाको देवी सिद्धकाली मन्दिरमा अवस्थित रुद्रायणी, बालकुमारी पाटनमा कौमरी, कीर्तिपुर चोभारमा रहेको जलविनायक, हलुमान, न्हसिकाप, कुसुन्तीमा कुमार, नेखुमोलमा ब्रम्हायणी देवी, नख्खुस्थित विष्णुदेवी, पशुपतिको महेश्वरी, बल्खुको इन्द्रायणी, बज्रबाराही, गुह्येश्वरी, महालक्ष्मी, आकाश भैरवलगायतका शक्तिपीठमा पूजा गरिन्छ ।

रुद्रायणी मन्दिरमा राखिएको रुद्रायणीदेवीलाई रुद्रायणी देवगणहरुबाट १ महिनाका लागि विधिवत रुपमा पूजा अर्चना गरी द्यो कुनेगु (देवता देखाउने) कार्य गरिन्छ । त्यसपछि खोकनाभित्र नुहाउने, लुगा धुने, छालाका सामानहरु लगाउने, कुखुराको मासु, अण्डा, पूजामा रातो टिका, घण्टी बजाउने, मनोरन्जनात्मक कार्यहरु गर्ने, भोज भतेर आदिमा कार्यहरु पूर्ण रुपमा प्रतिबन्ध लगाइन्छ ।

राति देवतागणहरुमध्ये कुमारी र वामुख्या द्यो श्री खण्ड भवानी मन्दिरमा विराजमान श्री खण्ड भवानीलाई विधिवत रुपमा पूजापछि मन्दिरबाट बोकेर खोकनाको क्वेलाछीमा अवस्थित नाःस द्यो मन्दिरमा आफ्नो शक्ति सञ्चयका लागि गोप्य रुपमा प्रतिस्थापन गरिन्छ ।
सोमबारबाट जात्रा सुरु हुने भए पनि मुख्य जात्रा असोज शुक्ल तृतीय (मंगलबार) हुन्छ । मंगलबार चोखो राँगा को बली दिएर देःसा (देःया) मनाइन्छ ।

खण्ड भवानी तथा द्यो बुबाट आफ्नो कार्य सकेपछि द्यो बुबाट कुमारीले शक्ति सञ्चयका लागि नासं द्यो मन्दिरमा प्रतिस्थापित भगवानलाई विधिवत रुपमा उठाई कम्मरमा बोकिन्छ । त्यसपछि कुमारीले आफ्नो शक्ति बोकिरहनु भएका द्यो बुलाई कम्मरमा समाइन्छ । (कुमारीको दाहिने हातमा अरु समयमा संधै खड्ग हुन्छ भने सो दिन खड्ग हातमा हुदैन ।) त्यसपछि देःसा शुरु भई जात्रा अघि बढाइन्छ अर्थात १२ बर्षे मेलाको मुख्य जात्रा शुरु हुन्छ । कुमारीले द्योबुलाई समातेदेखि नछोडिकन नै खोकनाको पूरा देःसा जात्रा संचालन कार्य हुन्छ ।

जात्राको अन्तः श्री रुद्रायणी मन्दिरको अगाडिको डबलीमा हुन्छ । यो डवलीको जात्रा १२ बर्षे मेलाको प्रमुख जात्रा हो । यो जात्रा हेर्नका लागि दर्शालु भक्तजनहरुको भींड हुन्छ । यो जात्रा सबैले हेर्न असमर्थ पनि हुन्छ । यहाँ पुगेपछि विधिवत रुपमा पूजा तथा रुद्रायणी देवीगणहरुबाट बाजा बजाउछन्। कुमारी र श्री खण्ड भवानीबीच पूर्ण रुपमा शक्ति साधना नभएसम्म घुम्ने घुमाउने कार्य गरिन्छ अर्थात कुमारीले श्री खण्ड भवानीलाई आफ्नै साथ राख्न चाहन्छ भने श्री खण्ड भवानी त्यहाँबाट फुट्केर आफ्नो वासस्थानभित्र विराजमान हुन चाहन्छन् ।

यसै क्रममा श्री खण्ड भवानी तथा द्यो बुलाई रेखदेख गर्न गुठीबाट व्यवश्था गरिएका ईनाभाहरुबाट द्यो बुले बोकिराखेको भगवानलाई फुट्काएर लिइसकेपछि मात्र द्यो बुलाई कुमारीले छोड्छ । यसै क्रममा आफ्नो शक्ति सञ्चय पूर्ण रुपमा नभएको खण्डमा पछिपछि आउन सक्छन् । यसरी फुट्कायर ल्याएपछि पुःन श्री खण्ड भवानीलाई द्यो बुबाट मन्दिरमा विधिवट रुपमा पूजा गरी प्रतिश्थापन गरिन्छ । यसरी जात्रा अन्त हुन्छ ।

ललिलपुर महानगरपालिका वडा नं २१ खोकनाका अध्यक्ष रवीन्द्र महर्जनका अनुसार खोकनाको ऐतिहासिक महत्वपूर्ण जात्रा हरेक वर्ष भव्य र सभ्यरुपमा मनाउँदै आइरहेका छन् । यसै क्रममा यो वर्ष अझ विषेश छ किनकि यो वर्ष १२ वर्षे जात्रा हो । रुद्रायणी गुठीका सचिव बुद्धी डंगोलका अनुसार प्रत्येक वर्ष श्री रुद्रायणी देवीको जात्रा गाईजात्राको भोलिपल्ट अर्थात् खोकना वासीहरुको स्थानीय गाईजात्राको दिनबाट शुभारम्भ हुन्छ ।

तर खोकनाभित्र अवस्थित श्री खण्ड(खड्ग) भवानी द्यो कुःनेगु कार्य गरिदैन । किनकि यो समयमा रुद्रायणी मन्दिरभित्र रहेका सबै देवीदेवताहरु गुफामा रहेको हुन्छ । तर देशलाई संरक्षण तथा सुरक्षाका सबै कार्यहरु गर्नुपर्ने हुन्छ । सो कार्य श्री खण्ड भवानीबाट गरिन्छ । यस समयमा माथि प्रतिवन्धित कार्य भएता पनि श्री खण्ड भवानी मन्दिरमा अवस्थित श्री खण्ड भवानीको प्रत्येक दिन बिहान नृत्य पूजा गर्नुपर्छ । साथै सो पूजामा अनिवार्य रुपमा रक्त चन्दनको रातो टिका र श्रीखण्डको सेतो टिका राखेर नृत्य पूजा गर्नुपर्छ । यस अर्थमा श्री खण्ड (खड्ग) भवानी शक्तिको प्रतिकको रुपमा रहेको छ ।

१२ वर्षे जात्राको मुख्य दुई दिन (भोलि र पर्सि) हुने गरे पनि यो नाच काठमाडौ उपत्यकाका विभिन्न ठाउँंहरुमा देखाइन लाने बताइयो ।ललितपुरको खोकनामा ऐतिहासिक १२ वर्षे मेला सुरु भएको छ । यो जात्रामा रुद्रायणी मन्दिरमा रुद्रायणी देवगणहरुलाई एक महिनाका लागि विधिवत पूजाअर्चना गरी ‘द्यो कुनेगु’ अर्थात् गुप्तवास राखिन्छ । ललितपुर महानगरपालिका वडा नं. २१ र रुद्रायणी गुठीले आइतबार पत्रकार सम्मेलनगरी सो जात्राको ऐतिहासिक तथा सांस्कृतिक विविध पक्षबारेमा जानकारी दिएको छ ।

वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जनले विगतमा केन्द्रीय सरकारको मातहतमा यो जात्रा मनाइने गरे पनि संघीयता कार्यान्वयनपछि स्थानीय सरकारको मातहतमा रहेको बताए ।  रुद्रायणी गुठीका ईलाखा बेखानारायण महर्जनले भने, “मैले २०२० साल, २०३२, २०४४, २०५६, २०६८ र अहिले २०८० मा मेरो उमेरको हकमा यो जात्रा गर्दैछु ।” उनले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्ने तथा नाच देखाइने बताए । जात्रा अवधिभरमा देखाइने सिकाली नाच परम्परागत भएकाले विगतमा देखाइँदै आएका स्थानमा मात्र देखाउने परम्परा छ ।

गुठीका नायः योगेश महर्जनले नेपाललाई विश्वसामु चिनाउने विविध जात्रापर्व र संस्कृतिकमध्ये १२ वर्षे मेला पनि एक रहेको बताउनुभयो । सांस्कृतिक पक्ष सँगसँगै यो वर्ष अभिलेखिकरणमा समेत जोड दिइएको उनको भनाइ छ । यसको इतिहासलाई दीगो राख्न एवम् देशव्यापी बनाउने उद्देश्यले भावी दिनमा संस्कृति संरक्षणका लागि संग्रहालय बनाउन पनि जरुरी रहेको उनले बताए । रुद्रायणी देवीको १२ वर्ष मेला २०८० गाईजात्राको भोलिपल्ट अर्थात् खोकनाबासीको स्थानीय गाईजात्राको दिनबाट गुफा राखेर सुरु गर्ने परम्परागत चलन छ ।

जात्राको अन्त रुद्रायणी मन्दिर अगाडिको डबलीमा हुन्छ । सोही जात्रा नै १२ वर्षे मेलाको प्रमुख जात्रा हो । यसैबीच, सो जात्राबारे गाइएको भजन पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।