७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अख्तियारको कर्मचारी भन्दै ठग्न थालेपछि पक्राउ



कोहलपुर (बाँके)
११ कात्तिक । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ ।

चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार विगत केही समयदेखि एक जना व्यक्तिले बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको सूचनाका आधारमा निजलाई पक्राउ गरिएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले निगरानी एवं खोजतलास गरी कोइरालालाई पक्राउ गरेको हो ।

प्रवक्ता डाँगीले निज कोइरालालाई हाल हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उनीबाट कोही व्यक्ति ठगिएको भए जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिन अनुरोध गरिएको बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।