२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


देउराली सहकारीका अध्यक्ष चौलागाईंको गाडी पनि बरामद



१४ कात्तिक । २० हजार निक्षेपकर्तालाई ठगी गरेको मुद्दामा हिरासतमा रहेका देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको टोयोटा फर्चुनर गाडी पनि प्रहरीले बरामद गरेको छ । निक्षेपकर्ताबाट ठगी गरेकै पैसाबाट उनले साढे दुई करोडको उक्त गाडी खरिद गरेर चढ्ने गरेका थिए ।

उनले प्रयोग गर्दै आएको गाडी विगतमा मिटरब्याजको आरोपमा पक्राउ परेका गणेश उप्रेतीसँग साढे दुई करोड रुपैयाँमा खरिद गरेको अनुसन्धानमा खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को थुनामा रहेका चौलागाईंले सहकारीको पैसा हिनामिना गरी जोडेको व्यक्तिगत सम्पत्तिमाथि पनि प्रहरीले रोक्का राखी अनुसन्धान गरिरहेको छ । उनले विभिन्न कम्पनीको नाममा करिब सय रोपनी जग्गा खरिद गरेका थिए । त्यो सम्पत्ति रोक्का गरिएको सिआइबीले जनाएको छ ।

काभ्रेको चौरी–देउराली स्थायी घर भएका चौलागाईंलाई सिआइबीले गत १६ असोजमा पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगीका साथै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । सिआइबीले आइतबार संस्थाका थप दुईजनालाई पनि पक्राउ गरेको छ ।

व्यवस्थापक दीपक केसी तथा कर्जा समिति संयोजक राजेन्द्र खत्रीलाई पक्राउ गरेको हो । खत्री चौलागाईंकै आफन्त हुन् । सञ्चालक समिति र कर्मचारीलाई प्रभावमा पारेर चौलागाईंले सहकारीमा संगठित रूपमा ठगी गरेको आधारमा सिआइबीले संगठित अपराधको कसुरमा अनुसन्धान थालेको छ ।

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउरालीको काठमाडौं न्युरोड र भक्तपुर सूर्यविनायकमा शाखा कार्यालय छन् । जहाँ कम्तीमा २० हजार सर्वसाधारणको करिब दुई अर्ब फसेको र पीडितहरूबाट जाहेरी आउने क्रम जारी रहेको सिआइबीले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : ५४ बजे