८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आईसीसी टी-२० विश्वकप एसिया छनोट: मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा



१४ कात्तिक । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपाल प्रवेश गरेको छ । मंगलबार मलेसियालाई पराजित गर्दै घरेलु टोली नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । योसँगै समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका छन् । समान चार अंक भएपनि नेपाल नेटरनरेटका कारण शीर्ष स्थानमा छ ।

मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ खेले । उनले ३४ बलमा ७ छक्का र २ चौकाको सहयोगमा ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकाको सहयोगमा ४३ रन बनाए । यस्तै अर्का ओपनर आसिफ शेखले २३ बलमा २ छक्का र १ चौकाको मद्दतमा ३२ रन बनाए ।

नेपालका कप्तान रोहित पौडेल ८ बलमा २ रन बनाएर आउट भए । सन्दीप जोरा १६ बलमा १८ रनका साथ अविजित रहे भने विवेक यादव २ बलमा २ रनसहित अविजित रहे । मलेसियाका लागि अमिर अजिमले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने पवनदीपले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयकाे अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो ।

मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३/१३ रन बनाए ।

नेपालका लागि अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । रोहित पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

समूह ए मा नेपालले अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ । उक्त खेलले समूह ए को विजेता र उपविजेता निर्धारण गर्नेछ । समूह ए को विजेता टोलीले समूह बी को उपविजेता र समूह ए को उपविजेता टोलीले समूह बी को विजेतासँग खेल्नेछ । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ११ : १४ बजे