२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महाजात्रा’ को छायाङ्कन सुरु



काठमाडौँ
१६ कात्तिक । नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्टस्को निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँबाट सुरु गरिएको छ ।
पैतालीस दिनको छायाङ्कन तालिका तय गरिएको कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिएका छन् । उनले भने, “काठमाडौँबाहेक जनकपुरमा छोटो छायाङ्कन हुनेछ । हामीले शृङखला थप्न हतार गरेनौँ । कथा अगाडि बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि सुरु गरेका हौँ ।”

अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरिरहेको चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गरिरहेको छ ।

अभिनेता आचार्यले पहिलो शृङ्खलामा गायकका रूपमा जोडिएको बताए । “यो शृङ्खलासँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ । निर्देशक भट्टराईले महसञ्चारमा लामो समय काम गरेपछि चलचित्र निर्देशन प्रारम्भ गर्नुभएको थियो । यसपटक कलाकारको रूपमा जोडिन पाउँदा उत्साहित छु”, अभिनेता आचार्यले भने ।

जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीनरूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचकरूपले प्रस्तुत गरिएको चलचित्रलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् । यसमा जीतबहादुर रुवालीले एशोसिएट निर्देशक, पुरुषोत्तम प्रधानले छायाङ्कन, कुमार महर्जनले द्वन्द्व निर्देशन, कविराज गहतराजले नृत्य निर्देशन, आशीष अविरलले सङ्गीत सिर्जना, शम्शेर लामाले शृङ्गार, रूपकप्रताप अधिकारीले प्रोडक्सन डिजाइनरको रूपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।