२० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’का कर्मचारीहरुको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको आरोपमा तत्कालीन मालपोत अधिकृत मिश्रसहित १० जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन मालपोत अधिकृतहरु भुप बहादुर बोगटी, गोपाल बहादुर ढुंगाना, पदम प्रसाद अर्याल र चन्द्र बहादुर भण्डारी तथा तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । साथै तत्कालीन नायव सुब्बा किरण प्रसाद उपाध्यायको निधन भइसकेकाले उनका छोराहरु राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपती प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्यायविरुद्ध बिगो असुल उपरका लागि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।
उनीहरुले आ.व. २०७१।७२ मा मालपोत कार्यालय, पर्साको फाँट ‘ग’को एकै रजिष्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा रजिष्ट्रेशन दर्ता किताव प्रमाणित नगरी लिखतबाट संकलन भएको राजस्व चुहावट गरेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार तत्कालीन मालपोत अधिकृत मिश्रविरुद्ध २ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ, तत्कालीन मालपोत अधिकृत बोगटीविरुद्ध १ करोड ४९ लाख ६९ हजार १ सय ४५ रुपैयाँ, तत्कालीन मालपोत अधिकृत ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार ९ सय ५० रुपैयाँ, तत्कालीन मालपोत अधिकृत अर्यालविरुद्ध १६ लाख ८१ हजार ६ सय रुपैयाँ, तत्कालीन मालपोत अधिकृत भण्डारीविरुद्ध २ लाख ४४ हजार ४ सय ६२ रुपैयाँ, तत्कालीन कम्प्युटर अधिकृत तिवारीविरुद्ध १ करोड ४१ लाख ४७ हजार १ सय ७१ रुपैयाँ र तत्कालीन नायव सुब्बा उपाध्यायविरुद्ध ५ करोड ५५ लाख १९ हजार ९ सय ७५ रुपैयाँ बिगो कायम गरी राजस्व हिनामिना भएको रकमको दोब्बर जरिवानासहित कैद सजाय हुन माग दाबी लिइएको छ ।
तत्कालीन नायव सुब्बा उपाध्याय र उनकी श्रीमतीको पनि निधन भइसकेकाले उनका छोराहरुलाई ५ करोड ५५ लाख १९ हजार ९ सय ७५ रुपैयाँ बिगो दामासाहिले असुलउपर गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरिएको प्रवक्ता दाहालले बताए ।
प्रतिक्रिया