बुटवल
२७ कात्तिक । नेपाल चलचित्र बिकास बोर्ड र चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलका सिनेमा हलहरुको सोमबार निरीक्षण गरेको छन् । बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकी सहित चलचित्र पत्रकार संघ रुपन्देहीको नेतृत्वमा बुटवलका केहि चलचित्रहलहरुको निरीक्षण गरेका हुन् ।
सो अवसरमा मोफसलमा चलचित्रको व्यापारको अवस्थाबारे अन्तरक्रिया गरिएको थियो ।
विश्वव्यापी कोरोना महामारी तथा आर्थिक मन्दीसँगै देशभरका सिनेमाहलहरु मर्कामा परेको बताउँदै चलचित्र बिकास बोर्डका सदस्य एबम प्रवक्ता बुढाथोकीले फेरि पहिलेकै अवस्थामा ल्याउने गरि बोर्ड लागि परेको बताए ।
विशेष गरि मोफसलमा हलहरुमा दर्शक ल्याउने गरि आफ्नो पहल सधै जारी रहने उनले प्रतिवद्धता गरे । चलचित्र पत्रकार संघ रुपन्देहीका पूर्व अध्यक्ष सुमन श्रेष्ठले विगतदेखि नै मोफसललाई केन्द्रले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
श्रेष्ठले बुटवल लगायत काठमाडौं बाहिरका शहरहरुमा पनि सुविधा सम्पन्न र स्तरीय चलचित्र हलहरु थपिने क्रम बढेको बताउँदै चलचित्रको व्यापार विस्तारका लागि दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए ।
चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले मोफसलमा रहेर काम गरिरहेका पत्रकार तथा रङ्गकर्मीका लागि राज्यले आवश्यक लगानी गर्न नसकेको गुनासो गरे ।
समग्र चलचित्र क्षेत्रको विकासले पर्यटन बिकासलाइ समेत टेवा पुर्याउने बताउदै न्यौपानेले सरकारले यसको लागि बिशेष पहल गर्नुपर्ने बताए। संघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठले मोफसलमा रहेर कलम चलाउने पत्रकारहरुको क्षमता विकासका लागि चलचित्र बिकास बोर्डले लगानी गर्न आग्रह गरे ।
निरीक्षणका क्रममा बुटवल भाटभटेनिमा रहेको क्यूएफएक्सका व्यवस्थापक महेश्वर गिरी, भ्यूसिनेमाज बुटवलका सञचालक प्रेमप्रकाश श्रेष्ठ, तथा क्यूबक्स बुटवलका सञ्चालक महेन्द्र नारायण श्रेष्ठले आफ्ना समस्याहरु बारे चलचित्र पत्रकार र बोर्डलाई जानकारी गराएका थिए। उनीहरुले समग्र चलचित्र क्षेत्रको बिकासका लागि आफुहरु समन्वय गर्न हरदम तयार रहेको बताए।
प्रतिक्रिया