११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका छन् । दमकको पशुपतिनाथ मन्दिरमा शुभसाइत पूजासँगै चलचित्रको छायांकन सुरु भएको हो ।
पूर्वराजाले फिल्म सफलताको शुभकामना दिएको निर्देशक मित्र प्रधानले बताए । यो चलचित्रले विदेशमा रहेका नेपालीको कथावस्तु पेश गर्दैछ । चलचित्रमा विल्सनविक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठ, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेघ सुवेदी, नारायण खातीको अभिनय हुनेछ ।
अमेरिकामा बसोबास गर्दै आएका निर्देशक प्रधानका अनुसार यो चलचित्रले नेपाली संस्कृति र भाषालाई प्रवर्द्धन गर्नुपर्छ भन्ने सन्देश दिन्छ । चलचित्रमार्फत नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्शाउन खोजिएको पटकथाकार शिवम् अधिकारीले बताए ।
अमेरिका, म्यानमार, भुटान र भारतका चारजना नेपाली भाषी अभियन्ताको अनुसन्धानमा चलचित्र आधारित हुने जनाइएको छ । नेपालीहरु कसरी समयकालमा अन्य मुलुकमा छरिए र त्यहाँ आफ्नो परम्पराको प्रवर्द्धन कसरी गर्दैछन् भन्ने कथावस्तु पनि यसले पेश गर्छ ।
प्रतिक्रिया