२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चौरजहारीमा दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै ६ जनाको हत्या : २३ जनालाई जन्मकैद



त्रिवेणी (रुकुम पश्चिम)
१९ मङ्सिर । विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा चौरजहारीमा दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै ६ जनाको हत्या भएको घटनामा २३ जनालाई जन्मकैदको फैसला भएको छ ।
जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको फैसला आएको हो । आइतबारदेखि सुरु भएको सुनुवाइको फैसला तीन दिन लगाएर मङ्गलबार साँझ आएको हो ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनाको कसुरमा कारागारमा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रासस जानकारी दिएका छन् ।

कोइरालाका अनुसार नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएको छ ।
साधारण तारेखमा छुटेका ११ जनामध्ये आठजनाले सफाइ पाएको सूचना अधिकारी कोइरालाले जानकारी दिए । त्यसैगरी पीडितलाई प्रतिवादीको तर्फबाट रु ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।

उक्त घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए । उनीहरूमध्ये थुनछेक बहसका क्रममा दुई जना बालकसहित ११ जना तारेखमा छुटेका थिए ।

भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँकी मल्ल थरकी प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न उनी त्यहाँ पुगेका थिए ।
दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाएकाको शव भेरी नदीमा भेटिएको थियो ।

विसं २०७७ जेठ १० गते जाजरकोटका नवराजसहित उनका पाँच जना साथी जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा हत्या भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।