११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चाँगुनारायणमा सडक कालोपत्र गर्न माग गर्दै प्रदर्शन, मेयरले पनि लगाए नारा



भक्तपुर
१९ मङ्सिर । चाँगुनारायण नगरपालिका २ दुवकोटका बासिन्दाले तीन दिनदेखि लगातार सडक कालोपत्रको माग गर्दै सडकमै प्रदर्शन गरेका छन् । सरकारको बजेटमा सल्लाघारी वीर अस्पताल जाने सडक कालोपत्रे सम्पन्न गर्ने गरी दुई वर्षअघि सीएम ब्राइट क्षितिज जेभी ठेकेदार कम्पनीसँग गत कात्तिक ३ गते भित्र सडक कालोपत्रे सम्पन्न गर्ने गरी रु ४२ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताबमोजिम काम नगरी ठेकेदार कम्पनीले भने सडक अलपत्र पारेको छ ।

ठेकेदार कम्पनीले समयमै काम नसकेका कारण सास्ती खेप्नुपरेको भन्दै स्थानीयले गरेको आन्दोलनमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नारावाजी गरेर जनतालाई साथ दिए । सडक समयमै कालोपत्र गर्नका लागि सम्बन्धित निकायलाई बारम्बार अनुरोध गर्दा पनि अटेर गर्दा जनताले गरेको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको भन्दै उनले सडक चाँडो कालोपत्र सम्पन्न गर भन्दै नारा लगाएका थिए ।

सडक समयमै कालोपत्रे गर्न अनुरोध गर्दै स्थानीयले पटकपटक सडक डिभिजन कार्यालय भक्तपुरमा माग गरे पनि सुनुवाइ नभएपछि गत आइतबारदेखि स्थानीयले दुवाकोट मोडको मुख्य सडकमै चिया र खाजा खाएर आन्दोलनमा उत्रिएका हुन् । सडक कालोपत्र सुरु गरेपछि मात्रै आन्दोलन रोकिने भन्दै स्थानीयले सडकमै ग्यास चुलो लगाएर प्ले कार्डसहित प्रदर्शन जारी राखेका छन् भने नगरप्रमुख र अन्य जनप्रतिनिधिले ऐक्यबद्धता जनाएका छन् ।

सडक कालोपत्रे नहुँदा दैनिक धुलो, धुवाँ र प्रदूषणका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहेको बताउँदै चाँगुनारायण नगरपालिका २ का वडाध्यक्ष सोम प्रधानले दसैँअघि डिभिजन कार्यालयका प्रमुखलाई भेटेर सडक कालोपत्रे तत्काल थाल्न दबाब दिए पनि अटेर गरेको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ३ : ५४ बजे