२१ मंसिर । अमेरिकाबाट नेपाल फिर्ता ल्याइएका दुईवटा पुरातात्त्विक महत्वको वस्तु पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको छ । जसमा प्रस्तरको श्रीधर विष्णुको मूर्ति र साँघुमाथि उभिएको योगासन मुद्राको नारी मूर्ति अङ्कित काष्ठ टुँडाल रहेका छन् ।
११ औँ शताब्दीको मानिएको श्रीधर विष्णुको मूर्ति ललितपुरको बुङ्मतीस्थित कोटाटोलको बाहिली हिटीबाट सन् १९८० को दशकमा हराएको विभागले बताएको छ ।
त्यस्तै १३ औँ वा १४ औँ शताब्दीको मानिने साँघुमाथि उभिएको योगासन मुद्राको नारी मूर्ति अङ्कित काष्ठ टुँडाल ललितपुरको पाटन दरबार स्क्वायर परिसरबाट हराएको थियो ।
अमेरिकाको न्यूयोर्कस्थित द मेट्रोपोलिटन म्युजियम अफ आर्टमा पुगेका ती कलात्मक वस्तुहरूको उत्पत्तिस्थल नेपाल भएको प्रमाण दिएपछि म्युजियमले नेपालमा फिर्ता दिने निर्णय गरेको पुरातत्त्व विभागले बिहीबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
ती पुरातात्त्विक सम्पदा अमेरिकी म्युजियमले आफ्नै ढुवानी खर्चमा नेपाल पठाएको हो र म्युजियमका वरिष्ठ कलाविद् जोन स्ट्यानली गे ती सम्पदा लिएर बुधबार आफैँ नेपाल आएका थिए ।
विभिन्न समयमा नेपालबाट हराएका पुरातात्त्विक महत्वका सम्पदाहरू धेरै फिर्ता आउन थालेको विभागको भनाइ छ । हालसम्म संयुक्त राज्य अमेरिकाबाट मात्र ७० भन्दा बढी सम्पदा फिर्ता आएका छन् ।
बेलायत, अस्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटालीबाट गरी कुल १४३ थान मूर्ति तथा कलावस्तु फिर्ताको पहल भइसकेको विभागले विज्ञप्तिमा जनाएको छ ।
प्रतिक्रिया