काठमाडौँ
२३ मङ्सिर । विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ । उक्त चलचित्र नेपालमा २०८१ जेठ १८ गते चलचित्र भवनमा प्रदर्शन गरिने निर्माण पक्षले घोषणा गरेको छ ।
दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको ‘गाउँ आएको बाटो’को नवीन सुब्बाले निर्देशन गरेका हुन् । राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको सो चलचित्रमा गाउँमा सडक आएपछि बाबु छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बाले जानकारी दिए ।
निर्देशक सुब्बाले निर्देशनको सुरुआत गरेका पहिलो चलचित्र ‘खाङ्ग्री’ नै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो । यसअघि उहाँद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थिए ।
‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेखेका सो चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङले तथा हेडी लिले सङ्गीत भरेका छन् ।
प्रतिक्रिया