२७ मंसिर । नेपाल प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल्स एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरेको हो ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । पक्राउ परेकाहरुविरुद्ध आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको पनि प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताए ।
उनले पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेको पत्रकार सम्मेलनमा बताए । उनले ९ जनाको संगठित अपराधमा तथा १२ जनाको लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको पनि जानकारी दिए । ८ जना भने धरौटीमा छुटिसकेको राठौरले जानकारी दिए । यस्तै बुधबार मात्र थप ३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
भिजिट भिसामा पठाउनका लागि कागजात मिलाएबापत अध्यागमन विभागका कर्मचारीले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका)हरूको हकमा भने ४० हजार रुपैयाँ लिने गरेको खुलेको प्रहरीले बताएको छ । यस्तै ट्राभल्सहरूले भने प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरूमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् । त्यस्तै एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल पनि रहेका छन् ।
प्रतिक्रिया