काठमाडौँ
३ पुस । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम ) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार एयरलाइन्सको कूल आम्दानी आव २०७७÷७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो ।
आव २०७८÷७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको नेपाल एयरलाइन्सको आम्दानी आव २०७९÷८० को प्रारम्भिक कूल आम्दानी रु २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको नेपाल एयरलाइन्स का प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् ।
नेपाल एयरलाइन्सले गत तीन वर्षको आम्दानीमा एक सय १४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ ।
विगत आठ वर्षदेखि नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई जहाज उडानमा रहेका छन् । नेपाल एयरलाइन्स सँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको नेपाल एयरलाइन्स ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि नेपाल एयरलाइन्सलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।
प्रतिक्रिया