३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भोकै पढ्नु पर्ने भएपछि स्कूल आउन छाडे चेपाङ बालबालिका



भरतपुर (चितवन)
५ पुस । पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका १० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका । अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा अझ कतिपय बालबालिका त भोको पेटमा नै विद्यालय आउँछन् ।
विद्यालयमा खाजा खान पाइने भएकैले विद्यालय आउने बालबालिका विद्यालयमा सरकारले बजेट छुट्याएको दिवा खाजासमेत रोकिँदा विद्यायल आउनै छाडेका छन् ।

कक्षा ३ मा अध्ययनरत मनिषा चेपाङ खाली खुट्टा स्कुल पुग्ने गरेकी छिन् । उनको पोशाक पनि थोत्रिइसकेको छ । बुवाआमासँग पैसा नहुँदा सधैँ खाली खुट्टा विद्यालय आउनुपरेको उनले सुनाइन् । “चप्पल, जुत्ता लगाउने मन त छ नि”, उहाँले भन्नुभयो, “बुवाआमासँग पैसा छैन, कहाँबाट चप्पल लगाउन पाउनु ।” उनले धेरै पढ्ने मन हुँदाहुँदै पनि घरको अवस्थाले सोचेअनुसार पढ्न नसकेको बताइन् ।

कक्षा ३ मै पढ्ने उर्मिला चेपाङ कक्षाकोठामा दुई वर्षको भाइलाई काखमा राखेर पढिरहेकी छिन् । उनको ध्यान पढाइमा भन्दा भाइतिर बढी छ । घरी किताब त घरी काखमा निदाइरहेको भाइको मुखमा हेर्दै पढिरहेकी छिन् उनी । बाआमा काममा गएकाले घरमा हेर्ने कोही नभएपछि भाइलाई पनि विद्यालय बोकेर आएको उनले बताइान । उनका दाइ र बहिनी पनि यसै स्कुलमा अध्ययनरत छन् । तीनैजना अध्ययन गर्ने एउटै कोठा र बेञ्च पनि एउटै छ । घरमा भात नपाक्दा चारैजना भोको पेटमै विद्यालय आएको उर्मिलाले सुनाएन् ।

कक्षामा रहेका विद्यार्थी कोही भोकै छन्, कोही नाङ्गै, कतिको खुट्टा खाली छ । विद्यालय पोशाकसमेत नभएका कतिपय बालबालिका थुरथुर काँपेरै पढिरहेका छन् ।
कुनै पनि विद्यार्थीसँग कपी, किताब बोक्ने झोला छैन । यो विद्यालयमा सरकारले खुवाउने गरेको दिवा खाजासमेत रोकिएको छ । शिक्षक रामलाल चेपाङका अनुसार करिब डेढ महिनादेखि जिङ्लाउका विद्यार्थीले खाजा खान पाएका छैनन् ।

यो विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा विद्यालय हो । दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका १० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन् । विसं २०७० देखि सञ्चालनमा आएको जिङ्लाउमा मात्रै ३५ विद्यार्थी भएका छन् । तर नियमित विद्यालय आउनेको सङ्ख्या भने १५ देखि २५ जनासम्म हुने शिक्षक रामलाल चेपाङले बताए । विद्यालयमा उहाँमात्रै एक जना शिक्षक छन् । उनले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गरेका छन् ।

नान्दरमा पढ्नेहरूका लागि भने नियमित खाजा खुवाउने काम भइरहेको छ । जिङ्लाउका विद्यार्थी दिवा खाजाबाट बञ्चित भएको विषयबारे विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार सबै बेखबर छन् ।

विद्यालयका प्रधानाध्यापक खुमराज भट्ट भने दिवा खाजा नरोकिएको दाबी गरे । दुईतिरै निगरानी गरिरहेको जनाउँदै उहाँले अहिलेसम्म दिवा खाजा नरोकिएको बताए । “अभिभावकलाई खाजाको व्यवस्था गर्नु, सरकारी पैसा विद्यालयको खातामा जम्मा भएको छ । पछि विद्यार्थीको हाजिरी हेरेर पैसा दिन्छु भनेको छु”, उनले भने । तर शिक्षक चेपाङ भने विद्यार्थीलाई खाजा खुवाउन सक्ने क्षमता यहाँका कुनै पनि अभिभावकसँग नहुँदा खाजा दिनुको विकल्प नभएको बताए । दिवा खाजाको प्रबन्ध नहुँदा त्यसको असर विद्यार्थीमा परेको उनको भनाइ छ ।

स्थानीय गोपाल चेपाङले झण्डै दुई महिनादेखि यहाँका बालबालिकाले खाजा खान नपाएको बताए । उनले विकट क्षेत्रको स्कुल भएका कारण सरकारले दिएको सेवाबाट पनि यहाँका बालबालिका बञ्चित हुनुपरेको गुनासो गरे ।

कालिका १० वडाध्यक्ष नरजङ्ग प्रजाले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई निर्देशन दिइसकेको जनाउँदै बालबालिकाको खाजा कार्यक्रम नरोकिने बताए । उनले भने, “चेपाङ बालबालिकाको खाजा रोक्ने अधिकार कसैलाई पनि छैन, विद्यालयमा कमी कमजोरी भएको भए कारबाही हुन्छ ।”

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जिङ्लाउको समस्याबारे नगरपालिकाको ध्यानाकर्षण भएको बताए । दिवा खाजाको विषयमा के कारणले रोकिएको हो भन्ने पत्ता लगाएर तत्काल सञ्चालन गर्ने उनले बताए । उनले पालिकामा ‘उपमेयरसँग बालबालिका’ शीर्षकको कार्यक्रम लागू भइरहेको जनाउँदै बेला–बेलामा शैक्षिक सामग्री वितरण गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  २ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।