३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


२६४ स्थानमा बस बिसौनी निर्माण गर्दै कामपा



९ पुस । काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ। यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु १३ करोड बजेट विनियोजन गरेको छ।

कामपाले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर्माण गर्न लागेको कामपाको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।

अहिले सञ्चालन भइरहेको केही र अन्य केही स्थानमा थप गरी बस बिसौनी विस्तार गर्न खोजिएको सल्लाहकार श्रेष्ठले भने।

‘चोकमा नै बस बिसौनी निर्माण गर्दा थप दुर्घटना बढेको भन्दै चोकको पाँच सय मिटर अगाडि वा दुई सय मिटर पछाडि निर्माण गर्न लागिएको हो, जुन आधुनिक हुन्छ, जहाँ निःशुल्क रुपमा इन्टरनेटको प्रयोग गर्न पाइन्छ,’ उनले भने।

जहाँ कुन रुटको बस कहाँ आइपुग्यो र अब यात्रुले कति समय पर्खनुपर्छ बन्नेबारे समेत जानकारी लिन सकिने व्यवस्था गर्न लागिएको छ। यसरी निर्माण गरिने बस बिसौनीमा एकपटकमा तीनवटासम्म बस रोक्न मिल्ने बनाउने तयारी रहेको छ।

बस बिसौनी निर्माणका लागि बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको र त्यसपश्चात् काम सुरु हुने कामपाको भनाइ छ।

बसको रुट मिलाउने, सडक बत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिह्न व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारीसमेत भइरहेको बताइएको छ।

यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि कामपाको तयारी छ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।