२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय सभा निर्वाचन : सुरक्षा व्यवस्थाका लागि सरकारलाई आयोगको ९ बुँदे निर्देशन



३ माघ । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ । । बुधबार आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनका लागि सरकारलाई ९ बुँदे निर्देशन दिइएको जानकारी दिएका छन् ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर ज.ब.रा.को अध्यक्षतामा मंगलबार बसेको बैठकबाट सिफारिशसमेतका आधारमा बुधबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको उनले जानकारी दिए ।

निर्वाचन आयोगले तयार गरेको मतपत्र ढुवानी कार्ययोजनाबमोजिम गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रवन्ध मिलाउन आयोगले निर्देशन दिएको छ । यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचनको सन्दर्भमा आवश्यक सुरक्षाको समुचित व्यवस्था मिलाउन, प्रदेश राजधानी रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयहरूमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचनको कार्यमा खटिएका सम्पूर्ण जनशक्तिको सुरक्षा व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्यहरू, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख निर्वाचक मण्डलमा रहने र निर्वाचक मण्डलका सदस्यहरू प्रदेशभर छरिएर रहेकाले आफू रहेका स्थानीय तह वा जिल्लाबाट मतदान स्थल तोकिएको प्रदेश राजधानीसम्म र प्रदेश राजधानीमा निज बसेको स्थानबाट मतदान केन्द्रसम्म मतदान प्रयोजनका लागि आउने र जाने मार्ग तथा आवासीय क्षेत्रमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
निर्वाचन मण्डलका सदस्य मतदाताहरूलाई मतदान स्थल रहेको मोरङको विराटनगर, धनुषाको जनकपुर, मकवानपुरको हेटौंडा, कास्कीको पोखरा, दाङको घोराही, सुर्खेतको विरेन्द्रनगर र कैलालीको धनगढीमा होटल व्यवसायीहरूसँग समन्वय गरी मतदाताहरूको निजी खर्चमा बसोबासको प्रबन्ध मिलाउन आवश्यक समन्वय गर्न, उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन, राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि तोकिएका मतदान स्थल तथा मतदान केन्द्र र मतगणना स्थलको सुरक्षा प्रबन्ध मिलाउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० बमोजिम निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका तथा मिति २०८० माघ ११ गते मतदान हुने प्रदेशका सात जिल्लाहरू मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका, २०७८ को दफा ५ बमोजिम गठित जिल्ला निर्वाचन सुरक्षा समितिलाई क्रियाशील तुल्याई निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी एवम् भरपर्दो बनाउन निर्देशन दिन र निर्वाचन आचारसंहिता कार्यान्वयनको सन्दर्भमा नेपाल प्रहरीलगायत सुरक्षा निकायबाट आवश्यक निगरानी गरी विवरण उपलब्ध गराइदिन गृह मन्त्रालयमार्फत सुरक्षा निकायहरूलाई निर्देशन दिन पनि आयोगले भनेको छ ।

 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।