२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हात्तीले घर भत्काएपछि चिसोमा रात कटाउन बाध्य



झापा
६ माघ । जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् ।

कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन् । यहाँका स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा छन् ।

हात्तीले पक्की घरभन्दा टिनको छानो र टाटीले बेरेको घरलाई बढी निशाना बनाउने गरेको छ । हात्तीले घर भत्काउनुका साथै दुःख गरेर वर्षभरि खानाका लागि भण्डारण गरेको धान, चामल, मकै खाने, छरिदिने हात्ती पीडितको गुनासो छ ।

कचनकवल गाउँपालिका ३ का ईश्वरसिंह राजवंशी, फाकताल राजवंशी, देवलाल राजवंशीको टिनको छानो भएको घर भत्काएर एकै दिन भण्डारण गरेको अन्नसमेत खाएको थियो ।
स्थानीय दुर्गाभिट्टा सामुदायिक वनमा दिनभर बस्ने हात्तीले मध्यरातमा गाउँ पसेर घर भत्काइदिँदा उनीहरु सङ्कटमा परेका छन् । “अन्न त खायो, तर घर नै भत्काइदिएपछि अब कहाँ बस्ने”, स्थानीय देवलाल राजवंशीले भने, “शीतलहर चलेको छ, तत्काल बनाउने पैसासमेत छैन ।”

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको २०८०÷०८१ को साउनदेखि पुस मसान्तसम्ममा जङ्गली जनावरबाट रु ४८ लाख ५० हजार छ सय ४० बराबरको भौतिक क्षति भएको छ ।
कार्यालयले सो अवधिमा जङ्गली जनावरले जिल्लाका ७२ स्थानमा ५९ घर, दुई गोठ भत्काएको जनाएको छ । हात्तीले घर भत्काएमा सरकारले रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।