१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बोर्डमा जागिर खान मात्र आएको होइनः भुवन केसी



७ माघ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले बोर्डलाई सुधार्न अन्तिम प्रयास गरिरहेको बताएका छन् ।कास्कीको सिक्लेसमा चलचित्र पत्रकार संघले गरेको ‘सिक्लेस सिनेमा र सरकार : हिजो आज र भोलि’ विषयक बहसमा आइतबार उनले बोर्ड स्वायत्त नहुँदा चलचित्र क्षेत्रको विकासमा समस्या भएको बताएका हुन् ।
विगतका बोर्ड अध्यक्षहरुले पनि स्वायत्तताको लागि प्रयास गरेको र आफू पनि त्यही प्रयासमा रहेको केसीले बताए । हाल चलचित्र विकास बोर्ड सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत छ । उनले श्यामश्वेत पर्दाबाट डिजिटल युगमा आइसक्दा पनि २६ सालकै चलचित्र ऐनअनुसार नेपाली सिने क्षेत्र चलिरहेको बताए ।
केसीले चलचित्र क्षेत्रको विकास गर्ने गरी बोर्डमा कोही आउन चाहे आफू अहिले नै पद छोड्न तयार रहेकोसमेत बताए । बोर्ड र मन्त्रालयबीचको भद्रगोल आफूले धेरै मिलाइसकेको र अब ऐन पास गराउनका लागि अन्तिम प्रयास गरिराखेको केसीले बताए ।

प्रकाश सुवेदीले सहजीकरण गरेको बहसमा केसीसँगै निर्माता आकाश अधिकारी र अभिनेत्री दीपाश्री निरौला सहभागी थिए । निरौलाले सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकतामा नराखेको बताइन् ।
सरकारले चलचित्रलाई केवल मनोरञ्चन र रमाइलोको साधनका रुपमा लिएको निरौलाको दुखेसो थियो । उनले आफूले निरन्तर उत्कृष्ट सिनेमा बनाए पनि स्रोत र साधनको अभाव अझै रहेको बताइन् ।

निर्माता आकाश अधिकारीले सरकारले चलचित्र उद्योगलाई उद्योगका रुपमा विकास गर्न नचाहेको आरोप लगाए । चलचित्रबाट देशको प्रवर्द्धनात्मक गर्न सक्ने सरकारले बुझ्न नचाहेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ४ : ४८ बजे