३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गुरुङ चलचित्रका कलाकारको पारिश्रमिक बढ्दै



लमजुङ
८ माघ । पर्यटकीय क्षेत्र गण्डकी प्रदेशमा गुरुङ भाषा संस्कार संस्कृतिमा आधारित चलचित्रको निर्माणक्रम बढ्दै गएको छ ।
गुरुङ संस्कार संस्कृति जोगाउन कस्सिएका गुरुङ कलाकार पछिल्लो समयमा व्यावसायिक बन्दै गएका छन् ।
दक्षिण एशियाकै नमुना तथा स्मार्ट भिलेज लमजुङको क्व्होलासोथर गाउँपालिका ३ घलेगाउँमा जन्मेका गमन घले सफल गुरुङ नायकका रुपमा स्थापित छन् । उनले एउटा चलचित्रमा अभिनय गरेबापत रु तीन लाखसम्म पारिश्रमिक लिने गरेको बताए । विसं २०५७ मा गुरुङ चलचित्र ‘म्हि सै’ अर्थात् मान्छेको मनबाट अभिनय सुरु गरेका थिए । उनले सुरुमा रु एक हजार छ सयदेखि गुरुङ चलचित्रको यात्रा गरेका थिए ।

यस क्षेत्रमा लागेकै २० वर्षभन्दा बढी समय भएका उनले ‘मनको बाबरी’, ‘आगे ठागु’, ‘ङै ङलो’लगायत ३५ भन्दाबढी गुरुङ चलचित्रमा अभिनय गरिसकेका छन् । त्यस्तै उनले आधुनिक, लोकगीत, पप गीत गरी २० गीतमा अभिनय गरिसकेका छन् ।

मस्र्याङ्दी गाउँपालिकाका विष्णु गुरुङले प्रतिचलचित्र रु ७० हजारदेखि रु ८० हजारसम्म पारिश्रमिक लिने गरेको बतोए । विसं २०६५ मा ‘मिग्ली’ चलचित्रबाट अभिनय यात्रा सुरु गर्दै उनले ‘कर्मको बाटो’, ‘नबिर्सने माया कर्म’, ‘मनको मान्छे’, ‘माया गर्नेलाई माया नमार’, ‘नबुझेको यो मन’, ‘सवण’, ‘रामकहानी’ लगायतका गुरुङ चलचित्रमा अभिनय गरिसकेका छन् । विगतमा चलचित्रमा काम गर्नका लागि पारिश्रमिकबिना काम गर्नु परे पनि अहिले धेरै थोरै पाइरहेको उनको भनाइ छ ।

त्यस्तै दोर्दी गाउँपालिका पाचोकस्थित छैलुङकी खुसी गुरुङ फिल्मी क्षेत्रमा नाम चलेको नायिकामध्ये एक हो । उनी अभिनित पहिलो गुरुङ चलचित्र ‘मैँ’(पैसा) हो । उनले विसं २०७२ को भूकम्प गएको केही समयपछि सो चलचित्रमा अभिनय गरेकी थिइन् । “आफ्नो पारिश्रमिक कति हुन्छ भनेर वास्तवमा भन्नु हुँदैन किनभने आफ्नो भाषा संस्कृति बचाउनलाई गुरुङ फिल्म बनाइएको हुन्छ”, उनले भनिन्, “तर रु ५० हजारदेखि माथि नै पारिश्रमिक लिने गरिएको छ ।”

उनले हालसम्म आठ गुरुङ चलचित्रमा अभियन गरिसककी छिन् । उनले गुरुङ चलचित्रबाहेक गुरुङ गीतमा अभिनय तथा आफ्नै स्वरमा गीत निकाल्नेदेखि लेखन कार्यसमेत गरिसकेकी छिन् ।

त्यस्तै बेँसीसहर नगरपालिका ४ पुरानोकोट घर भएका गुरुङ चलचित्रका नायक मनोज गुरुङले पनि राम्रै पारिश्रमिक लिने गरेका छा् । उनले पहिलो पटक विसं २०७६ मा गुरुङ चलचित्र ‘आमाको मन’मा अभिनय गरे ।

उक्त चलचित्रमा रु ३० हजार पारिश्रमिक पाएको उनले सुनाए । सोपश्चात उहाँले ‘दिदी बहिनी’, ‘पूर्णिमा’, ‘इच्छा’, ‘सम्बन्धको डोरी’, ‘ङल्स्यो माया’लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।

उनले प्रतिचलचित्र रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म चलचित्रको कथावस्तु र निर्माता हेरेर पारिश्रमिक लिने गरेको बताए । त्यस्तै म्युजिक भिडियो खेलेको रु ३० देखि रु ४० हजार लिने गरेको उनको भनाइ छ । उनी अभिनित चलचित्र ‘ङल्स्यो माया २’, ‘कुल देउता’ लगायतको चलचित्र प्रदर्शनको तयारीमा रहेका छन् ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।